नरहा गाउँपालिकाका अध्यक्षसहित जम्बो टोली भारत गएपछि पालिकाको कामकाज प्रभावित

सिरहा । सिरहाको नरहा गाउँपालिकाका अध्यक्षसहित तीन दर्जनभन्दा बढीको टोली नै भारत भ्रमणमा गएका छ्न् ।
पालिकाका अध्यक्ष रामप्रमोद यादवसहितको ४०–४५ जनाको जम्बो टोली गत १७ गते जनकपुरधाम हुँदै भारत भ्रमणमा गएपछि गाउँपालिकाको कामकाज प्रभावित भएका छ्न् ।

पालिकामा जनप्रतिनिधि र कर्मचारी नभएपछि अधिकांश कामकाज प्रभावित भएका हुन् भने पालिकामा रहेको कर्मचारीले सेवाग्राहीलाई विभिन्न बहानामा दुःख दिने गरेको सेवाग्राहीले गुनासो गरेका छन् । भ्रमण टोलीमा गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारी गरी ४०–४५ जनाभन्दा बढी सहभागी छन् ।

टोलीमा पालिका अध्यक्ष यादवसँगै उपाध्यक्ष गुलाबदेवि चौधरी, प्रमुख प्रशासकीय अधिकृत हरिशंकर यादव, नरहा गाउँपालिका–१ वडाध्यक्ष अशोककुमार सिंह, नरहा गाउँपालिका– २ का वडाध्यक्ष सम्झना सिंह सहभागी छन् । त्यस्तै नरहा गाउँपालिका– ४ का वडाध्यक्ष रामविलेक्षण यादव, नरहा गाउँरपालिका– ५ का वडाध्यक्ष हुकुमदेव यादव, स्वास्थ्य शाखा प्रमुख नन्दकिशोर यादव, प्रशासन शाखा प्रमुख वैदनाथ साह, शिक्षा शाखा प्रमुख देवशंकर यादव, पशु शाखाबाट योजना शाखाबाट कम्प्युटर अपरेटर स्थायी र करारका कर्मचारी गरी ४०–४५ जना भ्रमण टोलीमा छन् ।

भ्रमण टोली गत श्रावण १७ गते जनकपुरधाम भ्रमण गरी त्यहाँबाट भारतको अयोध्या, बाबा धाम, बासुकिनाथलगायत भारतको विभिन्न ठाउँ घुम्न जाने कार्यक्रम छ । उनीहरु कहिले फर्किने भन्ने जानकारी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजु योनजनलाई पनि छैन । शुक्रबार बिहान करिब ११ बजे पत्रकारको टोली पालिकामा पुग्दा भ्रमण बाहेकका कर्मचारी टेलिभिजन हेरेर बसिरहेका थिए ।

विडम्बना त के छ भने पालिका अध्यक्ष कसैलाई कार्यवाहक अध्यक्ष नै नदिई भ्रमणमा गएको स्थानीयहरुको गुनासो छ । नरहा गाउँपालिका– ३ का वडाध्यक्ष रुषतम अन्सारीलाई कुनै लिखित रुपमा नदिई मौखिक रुपमा पालिका अध्यक्षको कार्यवाहक जिम्मेवारी दिएको शहकारी शाखा प्रमुख राजनारायण यादवले बताए । वर्षात र डुबानको समयमा जनप्रतिनिधिहरु पालिका नै रित्तो पारी यसरी भ्रमणमा जानु आपत्तिजनक रहेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया