आदर्श आधारभूत विद्यालयलाई शैक्षिक सामग्री प्रदान

पाँचथर । फिदिम नगरपालिका– २ ओदिनस्थित आदर्श आधारभूत विद्यालयका आवासीय विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय पाँचथरले शैक्षिक सामग्री प्रदान गरेको छ । नेपाल प्रहरी श्रीमती संघको ४०औँ वार्षिकोत्सवको अवसरमा बिहीबार प्रहरीद्वारा सामग्री प्रदान गरिएको हो ।

समुदाय प्रहरी साझेदारी कार्यक्रमसँग समेत आधारित भएर आवासीय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पाँचथर प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारीले शैक्षिक सामग्री आवासीय कक्षा सञ्चालक समिति संयोजक गंगा इङ्वा लिम्बूलाई प्रदान गरेका थिए ।

दश–दश दर्जन कापी, डटपेन, दुई दर्जन पेन्सिलसहित मिठाई, बिस्कुट प्रदान गरिएको हो । स्थानीयवासी, अभिभावक, शिक्षक, पत्रकार उपस्थित गराएर प्रहरीद्वारा आयोजित कार्यक्रममा शैक्षिक सामग्री प्रदान गरिएको हो । सामग्री प्रदान गर्दै प्रहरी नायव उपरीक्षक भण्डारीले विद्यालय र विद्यार्थीको शैक्षिक प्रगतिको शुभकामना व्यक्त गरे ।

शान्ति सुरक्षा कायम गर्नमा सवै लाग्नुपर्नेमा जोड दिँदै भण्डारीले यस कार्यमा आफूहरु सदैब लागिरहेकोले कुनै समस्या परे खबर गर्न पनि आग्रह गरे । कार्यक्रममा उपस्थित फिदिमका युवा समाजसेवी कमलथ पलियाले आवासीय विद्यार्थीलाई चाँडै सहयोग गर्ने बचनबद्धता जनाए ।

केही समयअघि ओदिनका समाजसेवी हालः धरान निबासी तेज तुम्बापोले पनि यहाँका आवासीय विद्यार्थीलाई एक कार्टन चाउचाउसहित १३ जोर चप्पल प्रदान गरेका थिए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष देवि तुम्बापाले पनि एउटा इन्डक्सन चुलो प्रदान गरेका छन् ।

सहयोग प्रदान गर्ने दाताहरुप्रति संयोजक गंगा इङ्वा लिम्बूले धन्यवाद व्यक्त गरे । यहाँको आवासीय कक्षामा विभिन्न ठाउँका २० जना अनाथ असहाय बालबालिका अध्ययनरत रहेका छ्न् ।

प्रतिक्रिया