जनकपुरधाम । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख श्रवण मिश्रलाई २४ घण्टाभित्र रमाना हुन ताकेदा गरेको छ । कार्ज फिर्ता भएर पनि कार्यालय छाड्न नचाहेका प्रमुख मिश्रलाई कार्यालयले २४ घण्टाभित्र रमाना लिन आदेश दिएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शाखा अधिकृत मिथिलेश कुमार महतोले लेखेको पत्रमा मिश्रलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाह पथ, काठमाडौँको चलानी नं. २५१२ मिति २०८१ असार २० को पत्रबाट दरबन्दी रहेको निकाय कोसी अस्पताल, विराटनगरमा काज फिर्ता गरिएको हुँदा पत्र पाएको मितिले २४ (चौबीस) घण्टाभित्र बरबुझारथगरी दरबन्दी रहेको निकाय कोसी अस्पताल, विराटनगरमा रमाना लिई जान हुन आदेशा अनुसार अनुरोध भनी पत्र काटेको छ ।’
शाखा अधिकृत महतोले प्रयोगशाला प्रमुख मिश्रलाई लेखेको उक्त पत्र संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, मधेस प्रदेशस्थित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, कोसी अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, जनकपुरधाम र प्रदेश लेखा नियन्त्रक कार्यालय समेतलाई बोधार्थ गरिएको छ । सामान्यतया संघीय सरकार अन्तर्गतका कर्मचारी रहेको आधारमा मिश्रले उनका विभागीय मन्त्रालयले दिएको काज फिर्ता लिएको पत्र पाउने बित्तिकै तोकिएको निकायमा हाजिर हुनुपर्ने हो ।
तर, मिश्रले उक्त पत्रलाई वास्ता गरेनन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले लिखित रूपमै रमाना लिई २४ घण्टाभित्र गइदिन ताकेदा गरे पनि उनी तयार भएका छैनन् । अहिले पनि कसैगरी पत्र थमौती गर्ने दाउमै लागेको त्यहाँका १ जना अधिकृतले बताए । यता मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लेखेको पत्रलाई आधार मानेर रमाना लिनुपर्नेमा मिश्रले उल्टै जवाफ लेखेर पठाए ।
‘उपरोक्त सम्बन्धमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मधेस प्रदेशको चलानी नं. १००, मिति ०८० साउन २० गतेको पत्र प्राप्त भई व्यहोरा अवगत भयो’ मिश्रले प्रयोगशालाकै लेटरहेड प्रयोगगरी लेखिएको जवाफी पत्रमा भनिएको छ, ‘आर्थिक कार्यविधि तथा वित्तीय दायित्व नियमावली २०७७ को नियम ८६ बमोजिमको दायित्व पूरा गरी निजामती सेवा नियमावली २०५० को नियम ४० र नेपाल स्वास्थ्य नियमावली २०५५ को नियम ३६ को उपनियम (१) बमोजिमको अवधिभित्र रमाना लिई जाने व्यहोरा जानकारीको लागि अनुरोध छ ।’
प्रतिक्रिया