जनकपुरधाम । मधेस प्रदेशमा जम्बो मन्त्रिपरिषद् गठन गरिएको विरोधमा जनता समाजवादी पार्टी नेपाल समाजवादी युवा संघका नेता कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेको छ । मुलुकमाथि आर्थिक संकट रहेको समयमा राज्यकोषको दोहन गरिएको हिसाबले मधेसमा कुर्सी बचाउनकै लागि जम्बो मन्त्रिपरिषद् गठन गरिएको भन्दै समाजवादी युवा संघले विरोध प्रदर्शन गरेको हो । समाजवादी युवा संघका मधेस उपाध्यक्ष कमलेश यादवको अगुवाईमा जनकपुरधामस्थित रामानन्द चोकमा गरिएको विरोध प्रदर्शनमा ‘कुर्सी आतंक बन्द गर, राज्यकोष दोहन गर्न बन्द गर’ लगायतका नारासमेत लगाएका थिए ।
समाजवादी युवा संघ मधेस प्रदेशका उपाध्यक्ष यादवले संघियतामाथि नै प्रहार हुने गरी कुर्सी टिकाउनकै लागि जम्बो मन्त्रिपरिषद् बनाउनु मधेसवासीलाई सह्य नहुने बताए । उनले जनमत चुनावअघि ठूल ठूला भाषणलाई विश्वास गरेर मधेसका जनताले अवसर दिए पनि अहिले आएर एमाले कांग्रेसको कठपुतली भएर काम गरिरहेको आरोप लगाए । उनले कानुनी रूपमा कुल प्रदेशसभा सदस्य संख्याको २५ प्रतिशतको संख्यामा मन्त्री बनाउन सक्ने प्रावधान रहे पनि मधेसजस्तो कमजोर आर्थिक स्थिति रहेको प्रदेशमा जम्बो मन्त्रिपरिषद गठन गर्नु गलत रहेको बताए । यता समाजवादी युवा संघ धनुषाका अध्यक्ष दीपेन्द्र कापरले मन्त्रिपरिषद्लाई सानो आकारको बनाउन आग्रह गरे । हाम्रो आग्रह स्वीकार नगरिए शान्तिपूर्ण प्रदर्शनलाई चरणबद्ध रूपमा जारी राख्ने चेतावनी दिए ।
प्रतिक्रिया