जनप्रतिनिधिबाट पत्रकारलाई बन्धक बनाउनु घोर निन्दनीय : प्राधिकरण

राजविराज । आम सञ्चार प्राधिकरण मधेस प्रदेशले समाचार संकलनका क्रममा जनप्रतिनिधिबाटै पत्रकारलाई बन्धक बनाएर दुव्र्यवहार गर्नु निन्दनीय रहेको बताएका छन् । आमसञ्चार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्यामसुन्दर यादवले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सप्तरीको राजगढ गाउँपालिकामा मंगलबार पत्रकारमाथि भएको अभद्र व्यवहारको निन्दा गरेका हुन् । विज्ञप्तिमा समाचार संकलनका क्रममा सप्तरीको राजगढ गाउँपालिकाका अध्यक्ष ओमप्रकाश मण्डलले पत्रकारहरूलाई दुव्र्यवहार गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘२०८१ साउन २२ गते मंगलबार समाचार संकलन गर्न गाउँपालिका कार्यालय जाँदा नेपाल पत्रकार महासंघ सप्तरीका सचिवसमेत रहेका कान्तिपुर टेलिभिजनका संवाददाता आरएन विश्वास, महासंघका जिल्ला कोषाध्यक्ष एवं राजविराज दैनिकका प्रकाशक नवीन गुप्ता र महासंघका कार्यसमिति सदस्य, मधेस लाइभ डट्कमका कार्यकारी सम्पादक एवं नेपाल समाचारपत्रका संवाददाता विद्यानन्द राम समेतलाई अपशब्द प्रयोग गर्दै सञ्चार उपकरण खोस्नुका साथै प्रशासकीय अधिकृतको कार्यकक्षमा केहीबेर थुनेर राखेको पीडितहरूबाट बुझिन आएको छ’, अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कान्तिपुर टेलिभिजनका सम्वाददाता विश्वासले दिउँसो १ बजिसक्दा पनि प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष खाली रहेको तथा एसी चलिरहेको अवस्थाको भिडियो खिचेर निस्किने क्रममा दुव्र्यवहार गर्दै अध्यक्ष मण्डलले मेरो आदेशबिना हाकिमको कार्यकक्षमा किन प्रवेश गरेको ? भन्दै साथमा रहेका समर्थकहरूबाट पत्रकारहरूलाई केहीबेर कार्यकक्षमा थुन्न लगाएको पीडितको भनाइ छ ।’

‘समाचार संकलनका क्रममा पत्रकारहरूलाई गालीगलौज गर्नु, सञ्चार उपकरण खोस्नु र साथै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा थुन्नुजस्ता क्रियाकलाप लज्जास्पद हो । जनप्रतिनिधिबाटै यस्ता घटना हुनु घोर निन्दनीय हो’ अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।
आमसञ्चार प्राधिकरणले पत्रकारमाथि गरेको यस्ता घटनाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उल्लंघन भएको तथा नेपालको संविधान तथा कानुनी राज्यको उपहास गरेको ठहर गर्दै अध्यक्ष मण्डलसहित घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याई कारबाही गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी यस्ता क्रियाकलाप हुनुले नेपालको संविधान तथा कानुनी राज्यको उपहास गरेको हाम्रो ठहर छ’, अध्यक्ष यादवद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनाका दोषी जो कोहीलाई पनि कानुनी दायरामा ल्याई कारबाही गर्न जोडदार माग गर्दछौँ ।’
‘पत्रकारलाई भयमुक्त वातावरणमा समाचार संकलन गर्ने वातावरण निर्माण गर्नेतर्फसमेत गम्भीर बन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउन चाहन्छौँ’, आमसञ्चार प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया