बंगलादेशमा सेनाले सरकार बनाए विद्यार्थीहरूले स्वीकार नगर्ने, कडा कदम चाल्ने चेतावनी

द्यार्थी आन्दोलनका तीन नेता आसिफ मोहम्मद, नाहिद इस्लाम र अबु बकर मजुम्मदार

एजेन्सी । बंगलादेशमा नयाँ सरकार गठनको तयारी हुँदै गर्दा विद्यार्थी आन्दोलन सञ्चालन गर्ने नेताहरूले सेनाको नेतृत्वमा अन्तरिम सरकार बने त्यो स्वीकार्य नहुने बताएका छन् । उनीहरूले नोबेल पुरस्कार विजेता तथा अर्थशास्त्री मोहम्मद युनुसलाई प्रमुख सल्लाहकारको रूपमा अन्तरिम सरकारको नेतृत्व दिन माग गरेका छन् ।

पदत्याग गर्दै प्रधानमन्त्री शेख हसिना बंगलादेशबाट पलायन भएपछि सोमबार सेना प्रमुखले अन्तरिम सरकार गठन हुने घोषणा गरेका थिए । त्यसपछि साँझ राष्ट्रपति मोहम्मद शाहबुद्दिनले विभिन्न नेताहरूको बैठकपछि अन्तरिम सरकार गठन हुने, नयाँ निर्वाचन घोषणा हुने र देशभरि लगाइएको कर्फ्यू अन्त्य हुने घोषणा गरेका थिए ।

राष्ट्रपतिले जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियालाई रिहा गर्न आदेश दिएका छन् । सेना प्रमुख जेनरल वकार उज–जामनले मंगलबार विद्यार्थी नेताहरूसँग भेट गरिरहेका छन् ।

बंगलादेशको अन्तरिम सरकारका लागि हुने वार्तामा सेना, विद्यार्थी आन्दोलनका संयोजक र नागरिक समाज समूहसहितका मुख्य पक्षहरू छन् । हसिनाको पार्टी अबामी लीगको प्रतिद्वन्द्वी तथा बेगम खालिदा जियाको दल बंगलादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले अहिलेसम्म प्रधानमन्त्री पदमा आफ्नो दाबी प्रस्तुत गरेको छैन ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा उक्त दलले विद्यार्थी नेताहरूलाई आफ्नो पूर्ण समर्थन रहने बताएको छ । बीएनपीका अनुसार बेगम खालिदा जियाले नेतृत्व हस्तान्तरण नहुन्जेल सर्वसाधारण मानिसलाई शान्त रहन आग्रह गरेकी छन् ।

के हो विद्यार्थी नेताहरूको माग ?

सेना प्रमुख र राष्ट्रपतिले अन्तरिम सरकार गठन हुने र नयाँ निर्वाचन हुने बताएको भए पनि त्यसबारे धेरै कुरा खुल्न बाँकी छ । विद्यार्थी नेताहरूले सेनाले बनाएको सरकार स्वीकार्य नहुने घोषणा गरेका छन् भने तत्काल संसद विघटन गर्न माग गरेका छन् ।

बंगलादेशको विद्यार्थी आन्दोलनका संयोजकहरूले फेसबुकमा एउटा भिडियो सार्वजनिक गर्दै सैन्य शासन अस्वीकार गर्ने र नयाँ अन्तरिम सरकारको नेतृत्व मोहम्मद युनुसले गर्नुपर्ने बताएका छन् ।

‘हामीले सिफारिस गरेकोभन्दा अन्य कुनै सरकार स्वीकार्य हुने छैन,’ विद्यार्थी आन्दोलनका नेता नाहिद इस्लामले भिडियोमा भनेका छन् । उनले युनुस उक्त जिम्मेवारी लिन सहमत भएको समेत जनाउँदै भने, ‘हामी सेनाको साथ भएको वा सेनाले नेतृत्व गरेको कुनै सरकार स्वीकार गर्दैनौँ ।’

समाचार संस्था रोएटर्सले पनि युनुसका प्रवक्तालाई उद्धृत गर्दै यस जिम्मेवारीका लागि युनुस सहमत रहेको उल्लेख गरेको छ । उसका अनुसार हाल स्वास्थ्य उपचारका लागि फ्रान्सको प्यारिसमा रहेका युनुस सामान्य चिकित्सकीय प्रक्रिया पूरा गरेर तत्कालै स्वदेश फर्कने छन् । विद्यार्थी नेताहरूले स्थानीय समयानुसार दिउँसो ३ बजेसम्मको समयसीमा तोक्दै संसद भंग गर्न राष्ट्रपतिलाई आह्वान गरेका छन् ।

उनीहरूले आफ्ना मागहरू पूरा नभए कडा कदम चाल्ने चेतावनी दिएका छन् । ‘हामी देशका विभिन्न स्थानमा भइरहेका आगजनी र साम्प्रदायिक हिंसाका घटनाहरूको भर्त्सना गर्छौँ, यो आन्दोलन आफ्नो अधीनमा पार्न सक्ने मानिसहरूलाई रोक्न हामी तयार हुनुपर्छ,’ उनीहरूले भिडिओमा भनेका छन् । उनीहरूले आफूद्वारा प्रस्तावित अन्तरिम सरकारमा समाविष्ट हुने व्यक्तिहरूको नाम चाँडै सार्वजिन गरिने बताएका छन् ।

को हुन् मोहम्मद युनुस

ग्रामीण ब्यांक स्थापना र लघुवित्त अवधारणाको थालनी गरेकाले युनुसलाई सन् २००६ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो । उनी ८४ वर्षका छन् । उनको अवधारणाले दशौँ लाख मानिसलाई गरिबीबाट निस्किन सहयोग पुगेको बताइएको छ ।

हसिनाले बारम्बार युनुस गरिबहरूलाई चुस्ने परजीवी भएको र उनले गरिबहरूलाई ऋण दिएर धेरै ब्याज लिने गरेको आरोप लगाएकी थिइन् । गत जुन महिनामा बंगलादेशको एउटा अदालतले युनुसले आर्थिक अपचलन गरेको ठहर गरेको थियो । उनले आफूविरुद्ध लागेको आरोपलाई अस्वीकार गरेका थिए । राजनीतिक दुराशयका कारण युनुसलाई मुद्दा हालिएको उनका समर्थकहरूको दाबी छ ।

हसिना तेस्रो देश जान सक्ने अनुमान

सरकारी सेवामा आरक्षण अन्त्य गर्नुपर्ने मागसहित सुरु भएको विरोधप्रदर्शनले आन्दोलनको रूप लियो र हसिनाको राजीनामा त्यसको मुख्य माग बन्न पुग्यो।

१५ वर्ष निरन्तर सत्तामा रहेकी उनी गत महिनादेखि सुरु भएको हिंसक आन्दोलन उत्कर्षमा पुगेपछि राजीनामा दिँदै भारत पुगेकी थिइन् । हसिना भारतबाट तेस्रो मुलुक, सम्भवतः यूके जान सक्ने अनुमान गरिएको छ । उनले यूकेमा राजनीतिक शरण माग्ने विवरण विभिन्न सञ्चारमाध्यमले प्रकशित गरेका छन् ।

तर त्यसको पुष्टि हुन सकेको छैन । उनीसँगै ढाका छाडेकी उनकी बहिनी शेख रेहाना ब्रिटिश नागरिक हुन् । शेख रेहानाकी छोरी ट्यूलिप सिद्दिक अहिले ब्रिटेनको संसदमा सदस्य छन् ।

भारतले बंगलादेशमा विकसित घटनाक्रमबारे केही प्रतिक्रिया दिएको छैन । त्यहाँ आन्दोलन चर्किएको बेला पनि दिल्लीले त्यो बंगलादेशको आन्तरिक विषय भएको जनाउँदै आएको थियो ।

शैक्षिक संस्थाहरू खुले तर कक्षाकोठा खाली

बंगलादेशी सेनाले मंगलबारदेखि सबै शैक्षिक संस्थाहरू खुल्ने घोषणा सोमबार राति गरेको थियो । तर कक्षा कहिलेदेखि सञ्चालन हुन्छ स्पष्ट भइसकेको छैन । ‘अधिकारीहरूले हिजो नै सबै हल खोले तर पढाइ भने भएको छैन,’ ढाका विश्वविद्यालयका अफ्सर मुन्नाले बीबीसी बंगलालाई भने ।

जगन्नाथ विश्वविद्यालयका अर्का विद्यार्थीका अनुसार क्याम्पस खुलेको छ तर त्यहाँ अध्ययन अध्यापन भने सुरु भएको छैन । ‘आज विद्यार्थीहरू आफैँ हल खोलेर प्रवेश गर्छन् भन्ने मैले सुनेको छ,’ आरक्षणविरोधी आन्दोलनमा निकै सक्रिय देखिएको राजश्री विश्वविद्यालयका एक विद्यार्थीले भने ।

जहाङ्गिरनगर विश्वविद्यालयका तनवीर हसीबका अनुसार धेरै विद्यार्थी घर फर्किएको हुनाले उनीहरू ढाका फर्किन केही समय लाग्छ ।– बीबीसी नेपाली

प्रतिक्रिया