ढाका । बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसिनाको शासनकालमा गोप्य रूपमा बन्दी बनाइएका राजनीतिक व्यक्तीहरु मंगलबार रिहा भएसँगै उनीहरुको परिवार आफ्ना आफन्तको खबरका लागि पर्खिरहेका छन् ।
‘हामीलाई जवाफ चाहिन्छ’, हसिनाको सुरक्षा बलले हिरासतमा लिएका मानिसहरूको रिहाईको माग गर्दै अभियान चलाइरहेको ‘आमाहरूको आह्वान’ समूहका संयोजक सन्जिदा इस्लाम तुलीले भने ।
अधिकारकर्मीहरुले हसिनाको सुरक्षा बलले विशेष गरी प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) र देशको सबैभन्दा ठूलो इस्लामवादी पार्टी जमात–ए–इस्लामीका कार्यकर्तासहित लगभग ६०० जनालाई अपहरण गरी बेपत्ता पारेको आरोप लगाएका छन् ।
टुलीले बताए अनुसार कम्तिमा २० परिवारहरू बन्दी बनाइएको आफन्तको खबरको प्रतिक्षामा उत्तरी ढाकामा रहेको सैन्य गुप्तचर बलको भवन बाहिर भेला भएका छन् । सेना प्रमुख जनरल वाकर–उज–जमानले सोमबार हसिनाले हप्तौँको विरोध प्रदर्शनपछि राजीनामा दिएको र सेनाले अन्तरिम सरकार गठन गर्ने बताएका हुन् ।
हसिनाको राजीनामाको केही घण्टापछि राष्ट्रपति मोहम्मद साहाबुद्दिन र सेना प्रमुखको भेटवार्तापछि विद्यार्थीहरूको विरोध प्रदर्शनका क्रममा पक्राउ परेका सबैलाई रिहा गर्ने र प्रमुख विपक्षी नेता खालिदा जियालाई पनि मुक्त गर्ने निर्णय भएको थियो ।
बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) का अध्यक्ष ७८ वर्षीय पूर्वप्रधानमन्त्री जियालाई सन् २०१८ मा भ्रष्टाचारको आरोपमा १७ वर्षको जेल सजाय सुनाएपछि नजरबन्दमा राखिएको थियो ।
विपक्षी कार्यकर्ता र वकिल अहमद बिन कासेम पनि मंगलबार रिहा भएका हुन् । ‘उहाँलाई आज बिहान गोप्य नजरबन्दबाट रिहा गरिएको छ’, पारिवारिक साथी र आफन्त मासुम खलिलीले भने ।
हसिनाको सुरक्षा बललाई दशौँ हजार विपक्षी कार्यकर्तालाई गैरकानुनी हिरासतमा राखिएको, सयौँको गैरन्यायिक हत्या गरिएको, साथै विपक्षी नेता र समर्थकलाई बेपत्ता पारेको आरोप लगाइएको छ ।
सन् २००९ मा हसिना सत्तामा आएपछि ६०० भन्दा बढी मानिस बेपत्ता पारिएको जसमध्ये लगभग १०० जना अझै पनि बेपत्ता रहेको ह्युमन राइट्स वाचले गत वर्ष बताएको थियो । हसिनाको सरकारले बेपत्ता र गैरन्यायिक हत्याको आरोप अस्वीकार गर्दै आएको छ ।– रासस, एएफपी
प्रतिक्रिया