ढलमा छिरेर बेपत्ता भएकी महिला मृत फेला

काभ्रे । काभ्रे जिल्लाको बनेपा–पनौती बग्ने पुण्यमाता खोलामा परी एक महिलाको मृत्यु भएको छ । आज (मंगलबार) बिहान ११ बजे काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका– ५ श्रीखण्डपुरमा रहेको ढलको मकलमा छिरेर बेपत्ता भएकी महिला मृत फेला परेकी हुन् ।

जिल्ला रामेछाप खाडादेवी गाउँपालिका– ३ घर भएकी, हाल पनौती नगरपालिका–५ नैकिनटार बस्ने ५० वर्षीया भगवती भागदास ढलको मंगालमा छिरेर बगाएको भन्ने खबर प्राप्त भएपछि प्रहरी टोली खटिएर खोजतलास थालेको थियो ।

प्रहरी टोलीले खोजतलास गर्दै गर्दा बिहान ११ः३५ बजे उक्त ढलमा बगाएर अन्दाजी ३०० मिटर तल खेतमा तैरिरहेको अवस्थामा भगवती भागदासको शव फेला परेको हो। प्रहरी घटनास्थलमा पुगेपछि मृतकको शवलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित निकायलाई बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

बिपी राजमार्ग अवरुद्ध

आजै बिहान ११ः१० बजे काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका– ११ माम्तीस्थित बिपी राजमार्ग सडक खण्डमा अविरल वर्षाका कारण खहरे खोलाबाट लेदोसहितको बाढी आएर बाटो दुईतर्फी नै अवरोध भएको छ ।

ट्राफिकसहितको प्रहरी टोली खटिएको छ भने स्थानीय निकाय र सडक विभागसँग समन्वय गरी बाटो खुलाउने पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया