राजविराज । सप्तरीको रुपनी गाउँपालिकामा निर्माण सामग्री खरिद तथा विभिन्न शीर्षकमा लाखौँ अनियमितता भएको खुलासा भएको छ । ऐन नियमावलीको प्रावधान विपरीत विभिन्न कर्मचारीलाई अमानतबाट कार्य गराई १२ लाख रुपैयाँ बराबरको अनियमितता गरेको पाइएको हो ।
गाउँपालिकाले निर्माण सामग्री खरिदसहित विभिन्न शीर्षकमा गरी ११ लाख ९९ हजार ४ सय १८ रुपैयाँ अनियमितता गरेको महालेखा परिक्षकको प्रतिवेदन २०७९÷०८० ले ठहर गरेको छ ।
महालेखा प्रतिवेदनअनुसार कार्यालय सहयोगी उपेन्द्रप्रसाद यादवले ४५ हजार ५९० र २६ हजार ९९२ गरी ७२ हजार ५८२, स्वास्थ्य छैठौँ सिअहेव राजनारायण यादवले ८० हजार २७३, प्राविधिक सरोज कुमार मण्डल खत्वेले ९३ हजार ९९७, रोजगार संयोजक राजेश्वरप्रसाद यादवले ७० हजार ५२०, फिल्ड सहायक इन्द्रदेवा यादवले ७८ हजार ३२७ रुपैयाँ विभिन्न मर्मत सम्भारको नाममा अनियमितता गरेका छन् ।
यसैगरी कानुनी प्रावधानसम्बन्धी तालिमको नाममा अमिन कृष्णकुमार इसरले १ लाख, भेटेनरी पशुसम्बन्धी औषधि खरिद शीर्षकमा ओभिओटी प्राविधिक सुन्दरकुमार सरदारले ९९ हजार ९८५, भैपरी खर्च वडा–२ का सचिव श्रवणकुमार साहले ५९ हजार १३४, मुर्तिघर सरसफाइ तथा सांस्कृतिक कार्यक्रम वडा–४ का सचिव वीरेन्द्र मेहताले १ लाख, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम वडा–५ का सचिव राम ओतार यादवले १ लाख र स्वास्थ्यचौकी बसविट्टी भवन वायरिङ काममा ५० हजार गरी १ लाख ५० हजार रुपैयाँ अनियमितता गरेको महालेखाको ठहर छ ।
यसैगरी स्वास्थ्यचौकी भवनमा रंगरोगन वडा–५ का कास सुशीलकुमार यादवले ९७ हजार ६००, ज्येष्ठ नागरिक सम्मान कार्यक्रम वडा–६ का तत्कालीन सचिव मनोजकुमार साहले १ लाख र वडा–६ अन्तर्गत विद्युत् पोलहरूमा विद्युत् जडान सामाजिक परिचालक अमृतलाल चौधरीले ९७ हजार रुपैयाँ अमानतबाट कार्य गरी अनियमित गरेको महालेखाको ठहर छ ।
‘सार्वजनिक खरिद ऐन तथा नियमावलीले खरिद विधिमा खुल्ला प्रतिस्पर्धाद्वारा वा उपभोक्ता समितिमार्फत अमानतबाट निर्माण कार्य गैरसरकारी संस्थामार्फत कार्य गराउन सक्ने प्रावधान छ’, महालेखा प्रतिवेदनमा भनिएको छ, ‘यसै ऐनको दफा ४५ मा सामान्य प्रकृतिको मर्मत सम्भार कार्य अमानतबाट गराउन सकिने र यसै नियमावली २०६४ को नियम ९८ अनुसार अमानतबाट कार्य गराउँदा १ तहमाथि अधिकारीको पूर्वस्वीकृति लिनुपर्ने, अमानतबाट कार्य गराउन निर्माण सामग्री ऐन नियमावलीको प्रक्रिया बमोजिम खरिद गरी ज्यालामा काम गराउनुपर्ने उल्लेख छ, तर यस पालिकाले सामान्य प्रकृतिको मर्मत सम्भार कार्य व्यक्तिलाई कार्यदेश दिई गरेको छ ।’
‘ऐन नियमावलीको प्रावधान विपरीत १ तह माथिको स्वीकृति नलिई मर्मत सम्भारमा लाग्ने मालसामान समेत स्वयं व्यक्तिले खरिद गर्ने गरी मर्मत कार्यको कार्यदेश दिएकोले ऐन नियमको प्रावधान विपरीत कार्य गराएकाले व्यक्तिलाई कार्यदेश दिई कार्य गराउने कार्य नियम संगत देखिएको छैन, उक्त खर्च रकम अनियमित भएको छ ।’ महालेखाको प्रतिवेदनमा भनिएको छ ।
प्रतिक्रिया