‘जोगिन्दर’ले ल्याए गाइजात्रे झटारो ‘ठग– ठाग कम्पनी’

काठमाडौँ । हास्य र ब्यंग्यको पर्व ‘गाइजात्रा’लाई लक्षित गर्दै हरेक वर्ष विभिन्न हास्यब्यंग्य सामग्री भित्रिने गर्दछ । यस्तैमा लोकप्रिय कलाकार शिव शंकर रिजाल ‘जोगिन्दर’ले आगामी ‘गाइजात्रा’लाई लक्षित गर्दै गाइजात्रे कमेडी ‘ठग–ठाग कोसेली’ ल्याएका छन् । दर्शक तथा स्रोतालाई हास्यब्यंग्यको माध्यमबाट विशुद्ध मनोरञ्जन दिन र विकृति विसंगतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले उनले ‘ठग–ठाग कोसेली’ ल्याएका हुन् ।

विगत २२ वर्षदेखि नियमित ब्यंग्यका कोसेली दिँदै आएका जोगिन्दरको ‘ठग–ठाग कोसेली’ ओएसआरको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । अहिलेको राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसंगतिदेखि, फेसन र ग्ल्यामरसम्मलाई उनले ‘ठग–ठाग कोसेली’मा ब्यंग्यको मसला बनाएका छन् ।

लेखन, निर्देशन, प्रस्तुतिसमेत ‘जोगिन्दर’कै रहेको ‘ठग–ठाग कोसेली’मा प्यारोडी पनि छ । यसपटक उनले ‘काले केटाले’ भन्ने चर्चित गीतमा प्यारोडी बनाएका छन् । गीतमा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डदेखि नेपाली कांग्रेसका सभापति शेरबहादुरसम्मलाई उतारेका छन् । रिजालको ‘ठग–ठाग कम्पनी’ २२औँ कोसेली हो । गतवर्ष उनले ‘लुछाचुँडी’ ल्याएका थिए ।

जोगिन्दरको ‘ठग–ठाग कम्पनी’मा राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, शिवराम कार्की, सोनम शेर्पा, बिजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, पोसना श्रेष्ठ, बेदमणि अधिकारी र प्रेम शर्मा पौडेल रहेका छन् । ‘ठग–ठाग कम्पनी’को पोस्ट प्रोडक्सन कोचे मिडियाले गरेको हो ।

गाईजात्रा हास्य कलाकारका लागि एउटा महान् उत्सव भएकोले सधैँ झैँ यो वर्षपछि गाइजात्रे झटारो ल्याएको कलाकार रिजालले बताए । ‘अहिले यस्ता कोसेलीको व्यावसायिकता त छैन’, रिजालले भने ‘वर्षेनि दर्शकश्रोता मेरो कोसेलीको पर्खाइमा बस्नुहुन्छ ।’ दर्शकको मायाले गर्दा पनि यो वर्ष पनि गाईजात्रे कमेडीमा निरन्तरता दिएको रिजालको भनाइ छ । ‘हरेक वर्ष झैँ यो वर्ष पनि दर्शकले माया दिनुहुन्छ भन्ने बिश्वास छ’, रिजालले थपे । २०६१ सालदेखि हरेक वर्ष निरन्तर रूपमा गाईजात्रे प्रस्तुति बजारमा ल्याइरहेका रिजाल गाईजात्रामा हास्यब्यंग कार्यक्रम गर्नु, प्रस्तुति ल्याउनु हास्य कलाकारको धर्म नै मान्दछन् । शिवशंकर अहिले ‘नाचघरमा आयोजना हुने ‘गाईजात्रा कार्यक्रम’को तयारी छन् ।

प्रतिक्रिया