काठमाडौँ । धर्म दर्शनसम्बन्धी विभिन्न ६ वटा नेपाली पुस्तकको एकै साथ विमोचन गरिएको छ । नेपाल आर्यसमाजद्वारा शनिबार आयोजित कार्यक्रममा वैद्धिक यज्ञ अनुष्ठान विधिद्वारा पुस्तकहरूको विमोचन गरिएको हो । विमोचित पुस्तकहरूमा ऋग्वेद दिभाष्य भूमिका, तर्कको कशीमा वैदिक धर्म, सत्यार्थ प्रकाश, संस्कारविधि, श्रीमद्दयानन्द प्रकाश, वैदिक यज्ञ रहेका छन् ।
यस मध्ये ऋग्वेद दिभाष्य भूमिका शिक्षा विकास निर्देशनालय बागमती प्रदेश लगायतको आर्थिक सहयोगमा विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित भएको हो । अन्य पुस्तकहरू नेपाल आर्यसमाजद्वारा प्रकाशित भएका हुन् । ११० पृष्ठको वैदिक यज्ञ पुस्तक त्रिभुवन विश्वविद्यालय संस्कृत विभागका प्रमुख एवं नेपाल आर्य समाजका अध्यक्ष डा.माधवप्रसाद उपाध्यायले लेखेका हुन् । पुस्तकको मूल्य १२५ रुपैयाँ रहेको छ ।
ऋग्वेद दिभाष्य भूमिका पुस्तकका मूल लेखक स्वामी दयानन्द सरस्वती हुन् । यसलाई नेपाली भाषमा अनुवाद तथा सम्पादनको काम उपप्राध्यपक रोहिणीराज तिमिल्सेना र डा.माधवप्रसाद उपाध्यायले गरेका हुन् । ४८८ पृष्ठको यो पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ ।
सिद्धगोपाल कबिरत्नले लेखेको ‘तर्कको कशीमा वैदिक धर्म’ पुस्तकको अनुवाद महेशप्रसाद गौतमले गरेका हुन् । ११८ पृष्ठ भएको यो पुस्तकको मूल्य ९० रुपैयाँ रहेको छ । महर्षि दयानन्द सरस्वतीद्वारा लिखित ‘सत्यार्थ प्रकाश’ पुस्तकको नेपाली अनुवाद डा. माधवप्रसाद उपाध्यायले गरेका हुन् । ६६० पृष्ठको यो पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ ।
स्वामी सत्यानन्दद्वारा लिखित ‘श्रीमद्दयानन्द’ प्रकाश पुस्कतकको नेपाली भाषामा अनुवाद रोहिणीराज तिमिल्सेनाले गरेका हुन् भने सम्पादन डा.माधवप्रसाद उपाध्यायले गरेका हुन् । ५७४ पृष्ठको सो पुस्तकको मूल्य ३०० रुपैयाँ रहेको छ । यसैगरी महर्षि दयानन्द सरस्वतीद्वारा लिखित ‘संस्कारविधि’ पुस्तकको अनुवाद डा.माधवप्रसाद उपाध्यायले गरेका हुन् । ३०४ पृष्ठको यो पुस्तकको मूल्य २०० रुपैयाँ रहेको छ ।
पुस्तक विमोचन कार्यक्रममा बोल्दै त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका अंग्रेजी विभागका पूर्वप्रमुख प्राडा कृष्णचन्द्र शर्माले हिन्दूहरूको मुख्यग्रन्थ वेदबारे यथार्थ बुझ्न ‘ऋग्वेद दिभाष्य भूमिका’ पुस्तकले ठूलो सहयोग पु¥याउने बताए । पश्चिमा जगतले वेदबारे गलत व्याख्या गर्दै भ्रम सिर्जना गरेपछि त्यसलाई चिर्न स्वामी दयानन्द सरस्वतीले ऋग्वेद दिभाष्य भूमिका पुस्तक लेख्नुभएको चर्चा गर्दै अब यो पुस्तक नेपाली भाषामा समेत उपलव्ध हुनु भनेको धेरै ठूलो योगदान भएको बताए । हिन्दू धर्मका नाममा फैलाइएका कुप्रथा तथा विकृतिलाई चिर्न पनि यो पुस्तक उपयोगी रहेको बताए ।
यसैगरी भारतको दिल्ली विश्वविद्यालयका हिन्दू विभाग प्रमुख प्राडा ओमनाथ विमलीले धार्मिक ग्रन्थ सामान्य र युगान्तकारी गरी २ प्रकारका हुने बताए । स्वामी दयानन्द सरस्वतीद्वारा लिखित ऋग्वेद दिभाष्य भूमिका ग्रन्थ युगान्तकारी र कालजयी भएको बताए । यस्तो ग्रन्थ नेपाली भाषामा उपलव्ध गराएर आर्यसमाजका अध्यक्ष डा.माधवप्रसाद उपाध्यायले निकै ठूलो योगदान गरेको उनले बताए ।
प्रतिक्रिया