चौधरी र साह पुरस्कृत

राजविराज । नवौं वैद्य–प्रकाश मानव अधिकार पुरस्कारबाट सप्तरीका मानव अधिकारकर्मी दिलिप कुमार चौधरी र पाँचौ उर्मिला देवी झा मैथिली गीत गायन पुरस्कारबाट लोक गायिका सुनिता साह सम्मानित भएका छन् । वैद्य –प्रकाश मानव अधिकार कोष राजविराजद्वारा राजविराजमा शुक्रबार आयोजित एक समारोह वीच उनीहरु सम्मानित भएका हुन् ।
प्रत्येक बर्ष प्रदान गरिने वैद्य– प्रकाश मानव अधिकार पुरस्कारबाट सप्तरीको रुपनी गाउँपालिका ६ तेरहौताका चौधरीलाई नगद ७ हजार १ सय १ राशीसहित प्रमाणपत्र, दोसल्ला ओढाएर र उर्मिलादेवी झा मैथिली गीत गायन पुरस्कारबाट राजविराज ३ की साहलाई नगद २ हजार पाँच सय राशीसहित प्रमाणपत्र, दोसल्ला ओढाएर सम्मान गरिएको छ ।
पुरस्कार कोषका संस्थापक प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि उच्च अदालत जनकपुर–राजविराज इजलासका मुख्य न्यायाधीश बामदेव ज्ञवालीले उनीहरुलाई नगद, प्रमाणपत्र प्रदान गरी दोसल्ला ओढाएर सम्मान गरे ।

मानव अधिकारकर्मी प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसमा नवौं बैद्य–प्रकाश मानवअधिकार पुरस्कार २०८१ बाट यस बर्ष दलित अधिकारको क्षेत्रमा अतुलनीय योगदान गरेका चौधरीलाई सम्मान गरिएको पुरस्कार स्थापना कोषका संयोजक वैद्यनाथ झाले बताए ।

यसैगरी प्रेस स्वतन्त्रता सेनानी झाद्वारा आफ्ना भई बुहारी स्वर्गीय उर्मिला देवी झाको स्मृतिमा पुरस्कार स्थापना गरी प्रदान गर्दै आएको पाँचौ उर्मिला देवी मैथिल गीत गायन पुरस्कार राजविराज ३ की साहलाई प्रदान गरिएको छ । दुई हजार ५ सय रुपियाँ राशी रहेको पुरस्कार यस बर्ष मैथिली लोक गायनको माध्यमबाट मैथिली भाषा, संस्कृतिको जगेर्नामा महत्त्वपूर्ण योगदान गरेकी साहलाई प्रदान गरिएको पुरस्कारका संस्थापक झाले जानकारी दिए ।

२०७१ सालमा इन्सेकद्वारा पत्रकार एवं मानवाधिकारकर्मी बैद्यनाथ झालाई ५० हजार राशी सहितको प्रकाश मानव अधिकार पुरस्कार प्रदान गरेपछि सो रकम र आमाको सामाजिक सुरक्षा भत्ता बापत प्राप्त हुने ५० हजार समेत गरी २०७२ सालमा झाले १ लाखको वैद्य–प्रकाश मानवाधिकार पुरस्कार अक्षय कोष स्थापना गरेका थिए ।
यसअघि २०७३ सालमा पहिलो पटक बलदेव राम, युक्तिलाल मरिक, असर्फी सदा, मनोहर पोखरेल, रुवि कर्ण, अनिता देवकोटा, हितनारायण लाल दास र थानसिंह भन्साली यस पुरस्कारबाट विभुषित भइसकेका छन् ।

नगद राशीसहित प्रमाणपत्र, दोसल्लाबाट सम्मानित गरिने यो पुरस्कार विमान दुर्घटनामा निधन भएका इन्सेकमा महासचिव स्वर्गीय प्रकाश काफ्लेको स्मृति दिवसको अवसरमा प्रदान गर्दै आएको कोषका संस्थापक झाले जानकारी दिए ।

यसैगरी उर्मिला देवी झा गीत गायन पुरस्कारबाट नगद राशीसहित प्रमाणपत्र र दोसल्ला ओढाएर मधु श्रावणी पर्वको अवसरमा प्रत्येक बर्ष मैलिली अभियानी एक जनालाई सम्मान गर्दै आएको पुरस्कारका संस्थापक झाले जानकारी गराए । झाकी भाइ बुहारी उर्मिला देवी पाँच बर्ष अगाडि मधु श्रावणी पर्वको लागि सामान लिन भनी विराटनगर गएको बेला एम्बुलेन्सको ठक्करबाट निधन भएकी थिइन् । उनकै स्मृतिमा स्वर्गीय झाका जेठाजु प्रेस स्वतन्त्त सेनानी झाले उर्मिला देवी झा पुरस्कार कोष स्थापना गरी प्रत्येक बर्ष मैथिली महिला परिषदको सिफारिसमा एकजनालाई पुरस्कार प्रदान गर्दै आएका छन् ।

नेपाल पत्रकार महासंघ सप्तरीको सभाहलमा आयोजित पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मुख्य न्यायाधीश ज्ञवालीले कुनैपनि सम्मान पुर्ण जीवनको आयम भएको भन्दै सम्मानित हुने दुवै जनाको उज्ज्वल भविष्यको कामना गरे । सम्मानलाई धनसंग कहिल्यै दांँज्न नसकीने जिकिर गर्दै मुख्य न्यायाधीश ज्ञवालीले सम्मान ग्रहण गर्नु पाउनु भनेको जीवनमा सबैभन्दा आनन्द र सुख हुनु रहेको उल्लेख गरे ।

मानव अधिकारको क्षेत्र कमजोर हुँदा जाली फटाहाहरुले फाईदा उठाउन सक्ने प्रति सचेत गराउँदै उनले यसलाई न्यूनीकरण गर्न मानव अधिकारको क्षेत्रमा सक्रिय व्यक्तिहरुको प्रतिनिधित्व हुने गरी मेलमिलापमैत्री समाज निर्माणका लागि संगठित हुनुपर्नेमा जोड दिए ।

पूर्व निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले वर्तमान समयमा मानव अधिकारको अवस्था कम्जोर हुँदै गएको प्रति चिन्ता व्यक्त गरे । मुलकमा गरिवी ,असमानता विभेद, अन्याय र शोषण कायम रहुन्जेल मानवअधिकार सबल हुन नसक्ने बताउँदै आयुक्त डा. यादवले अहिलेकै तुलनामा मानव अधिकार टस बालेर खोज्दा समेत भेट्ने अवस्थामा नरहेको टिप्पणी गरे ।
‘यस्तो अवस्थामा टस बालेर खोज्दा समेत मानव अधिकार पाईदैन,’ डा यादवले भने,’ ‘मुलकमा असमानता, गरीवी, भेदभाव, शोषण, दमन अझै कायमै छन्, मानव अधिकारको रक्षाका लागि कोहि पनि भोका नांगा हुनहुँदैन र शिक्षा तथा स्वास्थ्यबाट बन्चित हुनुहुदैन ।’

सकारात्मक सोचको विकासबाटै परिवर्तन सम्भव रहेको भन्दै उनले मानव अधिकार उल्लंघनका घटना न्यूनीकरणका लागि जिल्लाका मानव अधिकारकर्मीहरु संगठित लाग्नुपर्नेमा जोड दिए ।
आमसंचार प्राधिकरण मधेस प्रदेशका अध्यक्ष श्याम सुन्दर यादवले दलित समुदायमाथि गरिने छुवाछूत, भेदभाव र अन्याय विरुद्धको विभिन्न अधिकारको आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्ने चौधरी र गीत संगीतको माध्यमबाट समाज र देशको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उच्च राख्न योगदान गर्ने मैलिली लोक गायिका साह सम्मानित हुँदा हामी सबैलाई सम्मानित भएको महुशुस भएको बताए । सामाजिक रूपान्तरका लागि अहोरात्र खट्ने व्यक्तिले यस्तो सम्मान पाउँदा यस क्षेत्रमा निस्वार्थ भावले लागेका व्यक्तिहरुलाई प्रेणा मिल्ने बताउंँदै उनले यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।

नेपाल पत्रकार महासंघ सप्तरीका अध्यक्ष श्रवण कुमार देवले सप्तरीमा मानव अधिकार उलंघनको घटना वृद्धि हुँदा समेत मानव अधिकारकर्मीहरुले संतोषजनक भुमिका निर्वाह गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग मधेश प्रदेश प्रमुख बुद्ध नारायण सहनी, अनौपचारिक सेवा केन्द्र ( इन्सेक) मधेश प्रदेश संयोजक राजु पासवान, मैथिली महिला परिषद सप्तरीकी अध्यक्ष मालती चौधरी, ज्येष्ठ नागरिक संघ सप्तरीका अध्यक्ष राम नरेश सिंहलगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।

वैद्य–प्रकाश मानव अधिकार पुरस्कार कोष राजविराजका सदस्य सचिब मनोहर कुमार पोखरेलद्वारा संचालित कार्यक्रममा स्वागत कोषका सदस्य एवम् नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्सालीले गरे । कार्यक्रममा श्री बरख गण राजविराज भलुवाहीका गणपति प्रमुख सेनानी राजेन्द्र पाण्डे, सप्तरीका प्रहरी प्रमुख एसपी गजुसिध्दी बज्राचार्य, राष्ट्रिय अनुसन्धान आयोग राजविराजका प्रमुख एसपी सुरेन्द्र कोइरालालगायतका विभिन्न संघसंस्थाका प्रतिनिधि, पुर्व सम्मानित व्यक्तिहरु तथा संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया