सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण गराउन आग्रह

जनकपुरधाम । सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीलाई निर्धारित समयभित्र कार्ड नविकरण गराउन वडा अध्यक्ष आफैँ बस्तीमा माइकिङ गरिरहेका छन् । धनुषाको सबैला नगरपालिका –१ का वडा अध्यक्ष मिथिला साहले शनिबार विदाको दिनलाई अवसर पारेर आफ्ना नागरिकलाई माइकिङ गर्दै सूचना प्रवाह गरेका छन् । साउन ३० गतेभित्र कार्ड नविकरणका लागि आवश्यक कागजात वडा कार्यालयमा पेश गरिसक्नुपर्ने प्रावधान रहेको अध्यक्ष साहले जानकारी दिए ।

‘साउन ३० गतेसम्म वडा कार्यालयमा नविकरणका लागि कागजात पेश गरिसकेपछि भदौ महिनाभर उक्त कागजात सचिवले मिलाएर अध्यक्षले प्रमाणित गरिसक्नुपर्ने हुन्छ’ अध्यक्ष साहले भने, ‘सामाजिक सञ्जाल र सञ्चार माध्यममा प्रकाशन गर्ने सूचना सबैको पहुँचमा पुग्दैन । त्यसैले माइकिङ गरिरहेको छु ।’

पाँच वर्ष मुनिका बालबालिका, एकल महिला, ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिहरुको लागि स्थानीय तह मार्फत सरकारले सामाजिक सुरक्षा भत्ता पठाइरहेको छ ।
पाँच वर्ष मुनिका बालबालिकालाई मासिक ५ सय रुपैयाँको दरले उपलब्ध हुन्छ । एकल महिलालाई मासिक ३ हजार र ज्येष्ठ नागरिकलाई मासिक ४ हजार रुपैयाँ वितरण गरिन्छ । अपांगता भएका व्यक्तिहरुका लागि उनीहरुले प्राप्त गरेको कार्डको वर्गको आधारमा भत्ता पाउने व्यवस्था रहेको उनले जानकारी दिए ।

प्रतिक्रिया