हेटौंडा । वर्षायाम सँगै मकवानपुरमा सर्पदंशका घटना बढेको छ । साउन महिनामा मात्रै हेटौंडा अस्पतालमा सर्पदंशका १३ जना बिरामी उपचारार्थ भर्ना भएका थिए जसमध्ये एकको मृत्यु भएको छ ।
हेटौंडा अस्पतालका आइसियु तथा अपरेशन विभागका डाक्टर प्रशान्त बिडारीका अनुसार झन्डै ९० प्रतिशत हरियो सर्प (पिट भाइपर) को डसाइमा पर्ने गरेका छन् । यस प्रजातिको सर्पको डसाइले बिरामीको रगतलाई पातलो बनाउने तर मृत्युको जोखिम अत्यन्तै कम हुने डा. बिडारीको भनाइ छ । यहाँ घाँस दाउरा गर्नुपर्ने मानिसहरु सर्पको डसाइमा पर्ने बताउँदै उनले यस वर्षको जेठदेखि यता ३८ जना उपचारको लागि भर्ना भएको बताए ।
मकवानपुरमा प्रायःविषालु सर्प कम पाइने बताउँदै उनले भने, ‘पछिल्लो तीन वर्षमा गोमन प्रजातिको सर्पले टोकेको एउटा मात्र घटना अस्पतालमा आइपुगेको छ ।’
सर्पदंशका बिरामीहरुको उपचारका लागि हेटौंडा अस्पतालमा एन्टि स्नेक भेनम (एएसभी) उपलब्ध रहे पनि पिट भाइपरको टोकाइमा त्यसको प्रयोग गरिहाल्नुपर्ने अवस्था नरहेको बिडारीले बताए । ‘सर्पदंशका बिरामीको उपचार यहीँ हुन्छ तर कहिले काहीँ विषको प्रभावले बिरामीको मृगौला फेल भएको अवस्थामा तत्काल डायलासिस सेवा नहुने भएकाले केही बिरामीलाई अवस्था हेरेर अन्यत्र रिफर गर्ने गरेका छौँ’ उनले भने । पछिल्लो समय हेटौंडास्थित ब्लड बैंकबाट सेतो रगत उपलब्ध नहुँदा समेत कतिपय बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्था आएको डा. बिडारीले बताए ।
मकवानपुर
प्रतिक्रिया