कुटपिट गरी हत्या गरेको भन्दै शवसहित प्रदर्शन

जनकपुरधाम । धनुषाको धनुषाधाम नगरपालिका–२ मंगलपुरका भोगेन्द्र ठाकुरको कुटपिटबाट हत्या गरिएको भन्दै मिटरब्याज पीडितहरूले जनकपुरधाममा प्रदर्शन गरेका छन् ।
श्मसानघाट स्वर्गद्वारीमा मंगलबारदेखि नै शव राखेर धर्ना दिएका मिटरब्याज पीडितले शवसहित जनकपुरधाम नगरमा प्रदर्शन गरेका हुन् । श्मसानघाटबाट ट्याक्टरमा शव राखेर जनकपुरधामको रामचोक, जाकचोक, शिवचोक, भानुचोक हुँदै प्रदर्शनकारीले नाराबाजी गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले गृहमन्त्री र धनुषाका प्रहरी प्रमुखविरुद्धसमेत नाराबाजी गरेका छन् ।

ठाकुरको शव मंगलबार प्रादेशिक अस्पतालले पोस्टमार्टम गरेर आफन्तलाई जिम्मा लगाएपछि जलाउन लगिएको थियो । तर मृतक ठाकुर मिटरब्याज पीडित रहेको र उनको हत्या मिटरब्याजीको योजनामा भएको दाबी गर्दै जलाउन रोकिएको हो । श्मसानघाटमै शव राखेर सयौंको संख्यामा बुधबारदेखि प्रदर्शनमा उत्रिएका थिए । ठाकुरको सोमबार बिहान घरमै कुटपिट गरी हत्या भएको थियो भने उनको श्रीमती श्यामु ठाकुर गम्भीर घाइते भएकी थिइन् ।

भोगेन्द्रको श्रीमती श्यामुका अनुसार उनी नुहाइरहेको समयमा मोबाइलमा भिडियो खिच्न खोज्दा विवादको सुरुआत भएको र लेनदेनको विषयलाई लिएर आफूहरूमाथि कुटपिट गरिएको र श्रीमानको हत्या गरिएको बताइन् । मृतक ठाकुरले शिवजीबाट ३ लाख ५० हजार रुपैयाँ ऋण लिएका थिए । उनको श्रीमती श्यामुले आफूले जग्गा बेचेर पैसा बुझाए पनि हिसाब दिन नमान्दा शिवजी यादवसँग पटकपटक विवाद हुँदै आइरहेको बताइन् ।

यही कारण शिवजीले पटकपटक ज्यान मार्नेसम्मको धम्की दिएपछि केही दिनअघि ठाकुरले जिल्ला प्रहरी कार्यालय धनुषामा शिवजीमाथि मिटरब्याजसम्बन्धी उजुरी दिएका थिए । त्यसकै निहुँमा शिवजीकै योजनामा हत्या भएको हुन सक्ने आशंका गरिएको छ । हत्या आरोपमा स्थानीय ४५ वर्षीया सुरजी मुखिया र उनका छोरा २१ वर्षीया नागेश्वर मुखियालाई प्रहरीले पक्राउ गरेको छ ।
उनको हत्या स्थानीय मिटरब्याजी शिवजी यादवको योजनामा भएको दावी गर्दै उनीसहित घटनामा संलग्न अन्यलाई पनि पक्राउ गरेर कारबाही गर्नुपर्ने मिटरब्याज पीडितको माग छ ।
मिटरब्याजी शिवजीलाई पक्राउ नगरेसम्म शव नजलाउने मिटरब्याज पीडित संघर्ष समितिको अडान छ ।

यता शुक्रबार दोषीमाथि कारबाही र सहिद घोषणासहित ८ बुँदे सहमति भएको छ । धनुषामा हत्या भएका भोगेन्द्र ठाकुरलाई सहिद घोषणा गराउन अनुरोध गर्नेसहितको ८ बुँदे सहमति भएको हो । धनुषाधाम नगरपालिका–२ का मृतक ठाकुरका दोषीमाथि कारबाहीसहितका विषयमा आन्दोलनरत मिटरब्याज पीडित संघर्ष समिति र स्थानीय प्रशासनबीच ८ बुँदे सहमति भएको छ ।
हत्यामा संलग्नको आरोप लागेका मिटरब्याजी शिवजी यादव लगायतका व्यक्तिलाई पक्राउ गरी जाहेरी बमोजिम कारबाही, सहिद घोषणाका लागि गृह मन्त्रालयलाई अनुरोध गर्ने, मृतकका बालबालिकालाई निःशुल्क शिक्षा, मिटरब्याजसम्बन्धी उजुरी उपर सुनुवाइ गर्ने लगायतको सहमति भएको हो ।

ठाकुरकी श्रीमती श्यामुकुमारीलाई निःशुल्क उपचार र रोजगारीको व्यवस्था मिलाउने, किरिया खर्च दिने, नाबालक २ छोरीको पालनपोषण एवं विश्वविद्यालय सम्मको निःशुल्क शिक्षाको लागि गृह मन्त्रालयमा अनुरोध गर्ने सहमति भएको छ । त्यस्तै मृतकको मिटरब्याजसम्बन्धी मुद्दामा कानुन बमोजिम छिटोछरितो समाधान गर्न गृह मन्त्रालयमा अनुरोध गर्ने, मृतकको परिवारलाई जग्गा भोगचलन गर्न शान्ति सुरक्षाको व्यवस्था मिलाउने र मृतकका विषयमा भएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने सहमति भएको मिटरब्याज पीडित संघर्ष समितिका अध्यक्ष मनोज पासवानले जानकारी दिए ।

गत सोमबार बिहान हत्या भएका ठाकुरको शवसहित मंगलबारदेखि मिटरब्याज पीडित संघर्ष समितिले आन्दोलन गरेको थियो । जिल्ला प्रशासन कार्यालय धनुषामा भएको सहमतिमा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष मनोज पासवान, जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवालगायतले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया