काभ्रे । काभ्रे जिल्लामा पछिल्लो समय चोरीको घटना बढ्न थालेका छन् । केही महिना अघि देखि निरन्तर चोरीको घटना बढ्दै जाँदा काभ्रे जिल्लाको पनौती नगरपालिका वडा नं ५ को वडा कार्यालयमासमेत गएराति चोरी भएको छ । वडाका वडा अध्यक्ष विनोद खत्रीका अनुसार साउन १७ गते राति पनौती नगरपालिका ५ सुब्बा गाउँमा रहेको वडा कार्यालयमा चोरी भएको हो ।
मध्यराति कार्यालयको मुख्य गेट र तीनवटा कोठाको ताला फुटाएर कम्प्युटरका सिपियू तथा राजस्व रकम रू २ लाख भन्दाबढी लगायत अन्य सामाग्रीहरु चोरी भएको प्रहरीले जनाएकाे छ ।
साउन १८ गते बिहान १० बजे पनौती प्रहरी चौकीमा चोरी भएको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेर थप अनुसन्धान गरिरहेको छ ।
चोरी भएका सामानहरुको सूचीमा ४ थान कम्प्युटरको सिपियू, दुई दिनको राजस्व रकम अन्दाजी रु २ लाख गरी ५ लाख बराबरको क्षति भएको अनुमान अध्यक्ष खत्रीले गरेका छन् । उनका अनुसार मानव कल्याण समाजको चन्दा बाकसबाट पनि (एकिन हुन बाँकि) रकम निकालिएकाे छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र दोषीलाई पत्ता लगाई कानुनी कारबाही गर्न विभिन्न लोकेसनका सिसी क्यामेराबाट समेत अनुसन्धान थालिएको बताइएको छ ।
केही हप्ता अघि मात्रै तेमालमा विद्युतको ट्रान्सफर्मर चोरी हुँदा १० लाख बराबरको क्षति भएको थियो, भने बनेपा मै पनि विद्युतको ट्रान्सफर्मर चोरी भएको थियो ।
प्रतिक्रिया