लिमा । पेरुमा ‘फिनेक्स स्क्वाड’ नाम गरेको महिलाहरूको समूह निकै चर्चित छ । उनीहरूको काम भनेको सम्बन्धमा विश्वासघात गर्नेहरूको जासुसी गर्ने र समात्ने हो ।
पछिल्ला २० वर्षदेखि यो समूह राजधानी लिमासहित देशका विभिन्न भागमा विश्वासघात गर्नेहरूलाई समात्न सक्रिय रहेको छ । यस समूहकी संस्थापक जेसिका मेलिनाका अनुसार हालसम्म उनीहरूले १० हजारभन्दा बढी केसहरू समाधान गरिसकेका छन् ।
उनीहरू जासुसीका लागि परम्परागत विधिदेखि ड्रोन सर्भिलेन्स र गोप्य क्यामेराको प्रयोग गर्छन् । विश्वासघात गर्नेहरूमा महिला वा पुरुष भनेर विभेद नगरे पनि यस समूहका सदस्यहरूमा भने सबै महिला महिला मात्र रहेका छन् ।
‘यो कामका लागि महिला नै उपयुक्त छन्’, ला रिपब्लिकका पत्रिकासँग कुराकानी गर्दै मेलिनाले भनिन्, ‘उनीहरूले पुरुषहरूभन्दा राम्रो नतिजा ल्याउने भएकाले मैले मेरो समूहमा महिला मात्रै राख्ने निर्णय गरेकी हुँ ।’
उनका अनुसार महिलाहरूलाई धेरैले याद नगर्ने र उनीहरूले लुकेर काम गर्न सक्ने हुँदा राम्रो नतिजा ल्याउन सक्छन् । मानिसहरूलाई आफ्नो पार्टनरले धोका दिएको पत्ता लगाउने आवश्यकताले यो समूहको जन्म भएको मेलिनाको भनाइ छ ।
विशेष गरेर सम्बन्धविच्छेद र बालबालिकालाई आफूसँगै राख्नका लागि प्रमाणहरू चाहिने उनले बताइन् । पूर्वजासुस रहिसकेका आफ्नो अंकलसँग काम गरेपछि उनलाई बजारको यो आवश्यकता पूर्ति गर्ने सोच आएको थियो ।
फिनेक्स स्क्वाडमा कार्यरत जासुस आडा हिनोस्ट्रोजाका अनुसार हरेक केस फरक–फरक हुन्छन् । तर कहिलेकाहीँ केही घण्टामा नै सबै प्रमाणहरू जुट्छन् । उनले सबैभन्दा चाँडो ४ घण्टाभित्र एउटा केस समाधान गरेको सुनाइन् ।
पछिल्ला २० वर्षमा समूहले संकलन गरेको तथ्यांकअनुसार महिलाहरू पुरुषभन्दा बढी धोका दिन्छन् । जासुस लिज रोड्रिग्वेजका अनुसार उनीहरूले हेर्ने ७० प्रतिशत केसहरू महिलाको हुन्छ । संस्थापक मेलिनाका अनुसार गत वर्ष उनले प्रतिहप्ता हेरेको १० केसहरूमध्ये ८ वटा महिलाले धोका दिएको बारेमा थियो ।
प्रतिक्रिया