सवारी दुर्घटनामा मधेस प्रदेशमा ५३० जनाको मृत्यु

धनुषा । मधेस प्रदेशमा बर्सेनि ५०० भन्दा बढी व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाउने गरेका छन् । गत वर्ष प्रदेशको विभिन्न जिल्लामा सवारी दुर्घटनामा परेर ५३० जनाको मृत्यु भएको प्रहरीले जनाएको छन् ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) दानबहादुर कार्कीका अनुसार आर्थिक वर्ष २०८०÷०८१ मा ६ हजार ५८ वटा सवारी दुर्घटना भई ५३० जनाको मृत्यु हुँदा २ हजार २४९ जना गम्भीर घाइते भएका छन् । यस्तै, सोही दुर्घटनामा परेर ७ हजार ४९६ जना साधारण घाइते भएको उनले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार गत आवमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटनामा परेको हो । गत वर्ष ८ हजार ५२९ वटा सवारीको दुर्घटना हुँदा सबैभन्दा बढी मोटरसाइकलको दुर्घटना भएको हो । गत वर्ष ५ हजार ९२६ वटा मोटरसाइकल दुर्घटनामा परेको थियो ।

यस्तै, ट्रक टेकंर २०२, टिपर ५१, डोजर, लोडर, स्काभेटर १२, बस १८५, माइक्रो ५१, जिप, कार ५८२, ट्रयाक्टर ३०२, टेम्पो ४६७, शा.स.चल्ने ७१४ र अन्य ३७ वटा सवारी दुर्घटनामा परेको प्रहरीको तथ्यांकमा उल्लेख छ ।

आर्थिक वर्ष २०७९÷०८० मा ५ हजार ९८८ वटा सवारी दुर्घटना हुँदा ५४६ जनाले ज्यान गुमाएका थिए । यस्तै, सो दुर्घटनामा परेर २ हजार २०० जना गम्भीर घाइते भएका थिए भने ७ हजार ४७२ जना सामान्य घाइते भएका थिए ।

आर्थिक वर्ष २०७८÷०७९ मा ५ हजार ७११ वटा सवारी दुर्घटना हुँदा ५८५ जनाको मृत्यु भएको थियो । यस्तै, सो दुर्घटनामा परेर २ हजार ५०९ जना गम्भीर घाइते भएका थिए भने ६ हजार ९५५ जना सामान्य घाइते भएका थिए ।

यस्तै, आव २०७७÷०७८ मा ३ हजार ९८३ वटा सवारी दुर्घटना हुँदा ५२३ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा परेर १ हजार ९३० जना गम्भीर घाइते भएका थिए भने ४ हजार ७४ जना सामान्य घाइते भएका थिए । आव २०७६÷०७७ मा १ हजार ३४० वटा सवारी दुर्घटना हुँदा ४२० जनाको मृत्यु हुँदा ९०५ जना गम्भीर घाइते भएका थिए । यस्तै, सो दुर्घटनामा परेर ९६२ जना सामान्य घाइते भएको प्रहरीको तथ्यांक छ । आर्थिक वर्षमा मधेस प्रदेशमा २३ हजार ८० वटा सवारी दुर्घटना भएकोमा २ हजार ६०४ जनाले आफ्नो ज्यान गुमाउँदा ९ हजार ७९३ जना गम्भीर घाइते भएको केन्द्रीय प्रहरी प्रवक्ता डिआइजी कार्कीले बताए ।

प्रतिक्रिया