केराको बोट सुक्दा लाखौँको क्षति

राजविराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भलुवामा सयौँ बिघामा लगाएको केराको थाम (बोट) सुक्न थालेपछि किसानहरू चिन्तित भएका छन् । लाखौँ लगानी गरेर लगाएको केराखेतीमा बाढी पसेर बोटै सुक्न थालेपछि किसानहरू चिन्तित भएका हुन् । गत असारको अन्तिम हप्ता अविरल वर्षासँगै सप्तकोसीमा पानीको बहाव उच्च भएपछि केरा बगान डुवानमा परेको किसानहरूले बताए ।

‘निरन्तरको बर्षाले खेरा बगान डुवानमा परेपछि बोटै सुक्न थालेको छ, किसान धर्मी प्रसाद यादवले भने, ‘पानीले केराको थम ( बोट) सुक्ने र केराको घरीमा क्षति पुग्ने हुँदा उत्पादनमा कमी आउने भएकोले लगानी खेर जाने निश्चित छ ।’

अर्का किसान महेश राउतले बाढी पसेर केराको बोट सुक्दा लाखौँको क्षति भएको बताए । बैकबाट ऋण काढेर गरेको लगानी खेर जाँदा परिवारको बिल्लीबाठ भएको दुःखेसो सुनाए ।
किसान बचेन्द्र यादवले प्रत्येक वर्ष बाढी पसेर केरा खेतीमा क्षति हुँदा आफूहरू साह्रै मारमा परेको बताए । किसानलाई समस्या पर्दा कसैले सहयोग नगरेको उनले गुनासो गरे ।
मुख्य आम्दानीको रूपमा लगाएको केरा खेतीमा विभिन्न रोगको प्रकोपले समस्या खेपिरहेका किसानहरू बाढीको चपेटामा परेपछि थप चिन्तामा डुबेको स्थानीय युवा नेता अजयकुमार यादवले जानकारी दिए ।

प्रतिक्रिया