काभ्रेमा उड्डयन व्यवस्थापन स्नातक तहको अध्यापन सुरु हुँदै

काभ्रे । नेपालमै पहिलोपटक काभ्रेको बनेपामा उड्डयन व्यवस्थापन स्नातक तहको अध्यापन हुने भएको छ । काठमाडौँ विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टअन्तर्गत रहेर सिम्रिक भेन्चर र सिद्धार्थ बनस्थली इन्स्टिच्युटको संयुक्त कार्यक्रममार्फत यो अध्यापन सुरु हुने भएको छ ।

बनेपामा आयोजित पत्रकार सम्मेलनमा, अध्यक्ष क्याप्टेन रामेश्वर थापाले मुलुक बाहिर जानुपर्ने बाध्यतालाई अन्त्य गर्दै नेपालमै गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रदान गर्न यो कार्यक्रम सुरु गर्न लागिएको जानकारी गराएका छन् ।

सम्मलेनमा बताइएअनुसार उड्डयन व्यवस्थापनको प्रस्तावित स्नातक ४ वर्षको हुनेछ । यसमा विद्यार्थीहरूले उड्डयन सञ्चालन, एयरलाइन्स र एयरपोर्ट व्यवस्थापन, उड्डयन कानुन र नियमहरू, उड्डयन सुरक्षा, एयरपोर्ट योजना र व्यवस्थापन, एयरलाइन अपरेसनहरू, उड्डयन अर्थशास्त्र, उड्डयन मार्केटिङ, पर्यटकीय महत्व र मानव संसाधन व्यवस्थापनसम्बन्धी शिक्षा प्राप्त गर्नेछन् ।

कार्यक्रममा क्याप्टेन थापाले भने कि यो पाठ्यक्रम विद्यार्थीहरूको आलोचनात्मक सोच र समस्या समाधान गर्ने सीपहरू विकास गर्न डिजाइन गरिएको छ, जबकि विमान सम्बन्धित गतिविधिहरू प्रबन्ध गर्न व्यावहारिक प्रशिक्षण प्रदान गर्दछ ।

काठमाडौँ विश्वविद्यालयको उपकुलपति डा. भोला थापाले यस कार्यक्रमले नेपालको सामाजिक आर्थिक विकासमा योगदान पु¥याउने र देशलाई दक्षिण एसियामा उड्डयन शिक्षाको हबको रूपमा स्थापित गर्ने बताएका छन् । कार्यक्रममार्फत, नेपाल पर्यटन बोर्डको बोर्ड मेम्बर प्रदीपराज पाण्डे, हिमालायन एयरलाइन्सका विजय श्रेष्ठ, काठमाडौं विश्वविद्यालयको रजिस्ट्रार अच्युत वाग्ले, र डिन विजय केसी लगायतले उड्यन व्यवस्थापनको क्षेत्रमा यो अध्ययनको सुरुआतले नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया