रुकुम पश्चिम । नेपालीमा एउटा उखान छ, ‘काशी जाने कुतिको बाटो’ अहिले यो पुरानो भइसक्यो र नयाँ उखानको बिगबिगी छ, ‘अमेरिका जाने तल्लो बाटो ।’ घरबाट निस्केपछि जंगलको बाटो हुँदै अवैध रूपमा अमेरिका जानेको संख्या बढ्दो छ । रुकुमपश्चिम, रुकुमपूर्व, दाङ र सल्यान लगायतका जिल्लामा त झन् एक घर एक अमेरिका हावी भइसकेको छ ।
अवैध बाटो अमेरिकातर्फ हिँडाउने दलालहरूमार्फत अमेरिका पुग्ने नेपाली दिनहुँ बढिरहेका छन् । नेपालमा थोरै आम्दानी हुने हुँदा सपनाको देशले चिनिने अमेरिका पलायनले गाउँ नै शून्य भएका छन् । कोहीलाई अमेरिका फलिफाप हुन्छ त कसैलाई पश्चात्ताप । दिनहुँ अवैध बाटो सेटिङमा दलालहरूले मानव तस्कर गरिरहँदा सरकार भने नजरअन्दाज गरिरहेको छ ।
७०–८० लाख रुपैयाँ दलालको हातमा बुझाएर अमेरिका छिर्नेहरू कोही सफल हुन्छन् त कोही आधि बाटोमै ज्यान गुमाउँछन् । कसैलाई डिपोट गरेर घर फर्काईदिन्छ । मुलुकभरीबाट सबैभन्दा धेरै अवैध बाटो हुँदै अमेरिका जानेमा रुकुमपश्चिम पर्छ । यहाँका कुनै गाउँका सिंगो युवाहरू गाउँ रित्तो पारेर अमेरिका छिरेका छन् । मानव तस्करलाई लाखौँ तिरेर महिनौँको जोखिमपूर्ण यात्रापछि मेक्सिको हुँदै ‘अमेरिका छिर्ने सपना’ बोकेर हिँडेका दर्जनौँ युवाहरू दुबईमा अलपत्र पर्छन् त कोही ब्राजिल र पानामाको जंगलमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँ र इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल दिल्लीमार्फत ‘तल्लो बाटो’बाट अमेरिका जान तयार हुन्छन् ।
गाउँघरमा भएको जग्गा जमिन धितो राखेर ऋण लिएर अमेरिका पुग्नै पर्ने अहिले यहाँ लहर छ । सुनौली सपनाको पोको गोजीमा राखेर परिवारको जिम्मेवारीलाई काँधमा बोकेर ६ महिनादेखि १ वर्षसम्म जंगलको बाटो संघर्ष गर्दै अमेरिका होमिएको सन्तानको कतिबेला लास घरमा पुग्छ अन्दाज नै हुँदैन । सुरक्षित र भरपर्दो वैदेशिक रोजगार नहुँदा लाखौँको रकम खर्चिएर ज्यानै धितोमा राखेर अमेरिका जानुपर्ने रुकुमेलीको बाध्यता जस्तै छ ।
गाउँका सबै साथीभाइ अमेरिका पुगेपछि रुकुम पश्चिमका दीपक ओलीलाई पनि डलरले मन लोभ्याउन थाल्यो । घरको जेठो छोरा भएकोले समयमै अमेरिका पुगेपछि घरपरिवारमा खुसी छर्ने आशा बोकेर उनी गत वर्ष उनी अमेरिका जाने निधो गरे । आफन्त र गाउँघरबाट व्याजमा रकम खोजेर दलालीलाई ८० लाख रुपैयाँ बुझाएर उनी अवैध बाटो हुँदै अमेरिका हिँडे । लामो संघर्ष पछि उनी अमेरिका पुगेको ७–८ महिना मात्रै पुगेको थियो ।
मिठो सपनाका साथ अमेरिका पुगेका तीनै ओलीको सोमबार बिहान गोली हानी हत्या भयो । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–१० सेजे गाउँका ३० वर्षीय दीपकको टेक्सासको वेको सिटी नजिक हाइवे–३५ को एक्जिट ३४६ मा रहेको ग्याँस स्टेसनमा काम गरिरहेको अवस्थामा लुटेराले गोली हानेर हत्या गरे । उनी मात्रै ढलेनन्सँगै उनको परिवारको खुसी पनि क्षणभरमा ढल्यो । लाखौँ बुझाएर अमेरिका जाने ‘तल्लो बाटोका’ यात्री दीपकका परिवारले देखेका सबै सपना यति बेला अस्ताएको छ । तल्लो बाटो’ हुँदै अमेरिका जान उनलाई झन्डै ७ महिना लागेको थियो । उनले बिचौलियालाई झन्डै ६० लाख बुझाएर अमेरिका हिँडेका थिए । बाँफीकोट गाउँपालिकाका मात्रै २ हजारको हाराहारीमा युवा अवैध बाटो हुँदै अमेरिका पुगेका छन् ।
दीपकका घरमा आमाबुबा मात्रै छन् । जेठो छोरा दीपक, माइलो छोरा दिनेश दक्षिण कोरिया र कान्छो छोरा जनक काठमाडौँमा पढिरहेका छन् । उनकी श्रीमतीसहित ५ वर्षकी छोरी पनि छन् । दीपक अमेरिका गएपछि उनकी श्रीमती बिमला बुढाथोकी ओली छोरीसहित दाङमा बस्दै आएकी छन् । २३ वर्षकी श्रीमती बिमला भक्कानिँदै भन्छिन्, काम राम्रै छ भन्नुहुन्थ्यो । अब चाँडै ऋण तिरेर सक्नुपर्छ । दिनहुँजसो फोनमा कुरा भइरहन्थ्यो, फुर्सद मिल्यो कि फोन गरिरहनुहुन्थ्यो,’ बिमलाले भनिन्, ‘ग्यास कम्पनीमा काम केही गाह्रो त हुन्छ । भन्नुहुन्थ्यो । आफूले ग्रिनकार्डका लागि पनि प्रक्रिया अगाडि बढाएको कुरा सुनाउनुहुन्थ्यो ।’ दीपकको मृत्युले उनको परिवार अहिले शोकमा छ ।
घरको जेठो छोरा गुमाउँदाको वियोगमा बुबा लिलाराम ओली, गहभरी आँसु पार्दै भन्छन्, ‘५ दिन पहिले दीपकले फोन गरेको थियो । अब चाँडै ग्रिनकार्ड पाइन्छ । त्यसपछि सजिलो हुन्छ । यताको केही पिर नगर्नु बुबा भन्थ्यो’, उनले भने, तर आज पिरै पिर छोडेर गयो । हामी पनि पैसा कमाउने लोभमा फस्यौँ, त्यही कमजोरी भयो ।’ यतै केही व्यवसाय गरेको भए छोराले ज्यान गुमाउ पर्थेन । उनको परिवारमा ठूलो बज्रपात परेको छ । दीपकको हत्या भएको खबरले परिवार विक्षप्त छ । श्रीमान् बितेको खबरले श्रीमती विमला अर्धमुर्छित छिन् । परदेशमा छोरा बितेको खबरले आमाले आफूलाई सम्हाल्न सकेकी छैनन् । एकातिर परिवारको सन्तान गुमाइएको श्रीमती र छोरीको बिचल्ली अर्कोतिर दीपक जाँदा लागेको ८० लाखको ऋणको भारी थुप्रिएको छ । अमेरिका सपनाले सबै खुसी लुटेको छ ।
दलाललाई मोटो रकम बुझाएर अवैध बाटो हुँदै अमेरिका हिँडेका धेरैले पानामा, घाना, अफ्रिकी मुलुकका जंगल र समुद्रसहित अमेरिकामा अकालमै ज्यान गुमाउने गरेका छन् । दीपकका साइँलाबुबा नाता पर्ने, देउभान ओलीले भने, ‘जाँदा लागेको ऋण तिरेर सकेको छैन । हामीले पनि एक्कासि मृत्युको खबर सुन्यौँ । उता पुग्दासम्म ७०–८० लाख पुगेको छ । ब्याजसहित करोड पुग्यो होला ।’ अहिले दीपकको गाउँघर परिवार र आफन्त पीडामा डुबेको उनले बताए ।
उनका अनुसार शवलाई पोस्टमार्टमका लागि प्रहरीले अस्पताल लगेको छ । अमेरिका जान रुकुमका युवाले आफन्त र गाउँकै साहुबाट ३६ प्रतिशतसम्म ब्याजमा कर्जा लिन्छन् । गाउँ नै रित्तिएर दलाललाई लाखौँ पैसा बुझाएर अमेरिका जानेको होडबाजी रुकुमपश्चिममा चलिरहेको छ । अमेरिका सपनाले देखाएको समस्या सरकारले गम्भीर रूपमा लिनुपर्छ । सरकारले मानव तस्करलाई कारबाही गर्नसके अवैध मानव तस्करी र दलालीमा कमी आउने छ । अवैध यात्रा र मानव तस्कर रोक्न सरकारले नै गम्भीर चासो देखाउनुपर्छ ।
रुकुम पश्चिम
प्रतिक्रिया