रौतहट । बज्जिकाञ्चलको एउटा प्रमुख संस्कृतिका रूपमा रहेको थियो, साउनमा आफन्तकहाँ जाने चलन । यो विस्तारै लोप भइसकेको छ । आजभोलि यस चलनको बारेमा पनि सर्वसाधारणलाई जानकारी रहेको पाइँदैन । मुख्य गरी युवा समुदायमा आफन्तकहाँ जानुपर्ने महिना वा समय कुन हो भन्ने कुरा नै थाहा रहेको पाइँदैन । अहिले यातायातको विकास, सडक सञ्जालको व्यापक विस्तारका साथै हात हातमा स्क्रिन टच मोबाइलको पहुँच हुनाले आफन्तकहाँ साउन वा भदौमा पुग्नैपर्ने चलन करिब हराइसकेको अवस्था छ ।
पहिले धानको रोपाइँ सकिएपछि सर्वसाधारण नातागोतालाई भेट्न पुगिरहन्थे । सबैभन्दा बढी पाहुना लाग्ने समय यही हुन्थ्यो । हरेक घरबाट हरेक वयस्क मानिस आफ्ना दुई चारओटा आफन्तको घरसम्म पुग्दथे । सम्भव हुँदासम्म एक दुई दिन त्यहीँ बस्दथे पनि । कमसे कम एक रात बस्नैपर्ने चलन थियो । साँझतिर आफन्तको घरमा पुग्ने र छिटो निस्कनु परे भोलिपल्ट बिहानको खाना खाएपछि मात्र फर्कने चलन थियो । यो चलन आजभोलि करिब लोप भइसकेको अवस्थामा छ ।
रौतहटको मौलापुर नगरपालिका–१ मर्यादपुरका भोला पाण्डे आफन्तकहाँ जाने संस्कृति लोप हुने अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गर्दछन् । कतिपय नचाहिने संस्कृतिलाई विस्थापित गर्नुपर्ने र पुराना अत्यन्त राम्रा संस्कृतिलाई पुनर्जीवन दिनुपर्ने पाण्डेको भनाइ छ । आजभोलि प्रविधिको विस्तारसँगै समयमा धेरै परिवर्तन आएको र जीवनका धेरै क्षेत्रमा नयाँ संस्कृति देखा परिसकेको अवस्थामा साउन महिनामा आफन्तकहाँ पुग्ने चलन हराइसकेको पाण्डेको अनुभूति छ । उनी भन्छन्, ‘अहिले साउनमा बाबाधाम पुग्ने चलनको विस्तार भएको छ ।’
बज्जिकाञ्चल क्षेत्रबाट हरेक वर्ष लाखौँ मानिस बाबाधाम पुग्ने गरेका छन् । भारतको झारखण्ड प्रान्तको देवघर जिल्लामा रहेको प्रमुख तीर्थस्थल बाबाधाममा हरेक वर्ष मधेस प्रदेशबाट लाखौँ मानिस दर्शनका लागि जाने गरेका छन् । कोही रेलको यात्रा गरेर र कोही स्कारपिओले बाबाधाम पुग्नुपर्ने चलन अत्यन्त धेरै विस्तार भइसकेको छ । केही त महिनौं लगाएर पैदल पनी जान्छन् । बाबाधामका साथै विभिन्न भारतीय तीर्थस्थलहरुमा जाने चलनको विस्तारले पनि आफन्तकहाँ जाने संस्कृति लोप भएको पाण्डेको भनाइ छ । पाण्डेलाई सबैभन्दा पीडा भएको कुरो हो, यो पर्वसँगै चाचर गीत हराउनु ।
बज्जिकाञ्चलमा साउन र भदौमा चाचर गीत गाउने चलन थियो । आफन्तकहाँ जाने मानिसले बाटोमा गाउँदै अगाडि बढ्ने एक किसिमको लोकगीत हो, चाचर । अहिले यो करिब लोप भइसकेको अवस्था छ । कुनै कुनै गाउँमा मुस्किलले गाउने भेटिन्छन् कोही चाचर गीत । युवा पुस्तामा चाचर गीत पूरै लोप भइसकेको छ । आधुनिकताले ती पूराना गीत संस्कृती हराएका छन् ।
मौलापुर नगरपालिका्ण्ज्ञछण्९ सोनरनियाका राम प्रवेश साहले पुरानो संस्कृतिको महत्व नयाँ युवाहरुले बिर्सिँदै जाँदा धेरै किसिमका संस्कृति लोप हुने अवस्थामा पुगिसकेको बताउँछन् । पहिले गडी, टायर र साइकल हुन्थ्यो । धानको रोपाइँ गरिसकेपछि किसानलाई पनि फुर्सद हुन्थ्यो । दिनभर पैदल हिँडेर विपन्न समुदाय आफन्तकहाँ पुग्दथे भने हुने खानेहरु काठे गडी वा टायर गाडा जोतेर आफन्तकहाँ पुग्दथे । यसरी पुग्दा दुई परिवारका सदस्यहरुको मिलन हुन्थ्यो । आपसी धेरै व्यवहारका कुरा हुन्थे ।
एक वर्षमा दुई समाजमा भएको परिवर्तनको कुरा थाहा हुन्थ्यो तर अहिले सडकको विकास, मोटरसाइकलको चलन तथा इन्टरनेटको माध्यमले मोबाइलमा फोटो हेरेर हरेक क्षण कुराकानी गर्न सकिने अवस्था सिर्जना भइसकेकोले मानिसलाई बिना कुनै काज आफन्तकहाँ जाने आवश्यकता महसुस भएको छैन । यसैले आफन्तकहाँ जाने चलन करिब लोप भइसकेको साह बताउँछन् ।
आफन्तकहाँ जाने र केही दिन बस्ने, केही समय सँगसँगै बिताउने चलन हराएसँगै आत्मीयतामा पनि ह्रास आउँदै गएको छ । अब आफन्तहरु यान्त्रिक बढी हुँदै गएको र आत्मीय सम्बन्धमा औपचारिकता बढी हुँदै गएको धेरैको अनुभूति रहेको छ । बज्जिका, नेपाली र भोजपुरी भाषाका साहित्यकार रेणु गुप्ता भन्छिन्, ‘आफन्तसित भेटघाट गर्ने र भलाकुसारी गर्ने चलन विस्तार कम हुँदै जानुमा समाज अलिकति पनि चिन्तित देखिँदैन । साथै, संस्कृतिको रक्षा गर्नुपर्छ भन्नेहरुले पनि चाचर जस्तो साउनको सांस्कृतिक सम्पत्ति लोप हुँदा पनि कतैबाट कुनै किसिमले संरक्षणको उपाय गरेको पाइँदैन । समाज र संस्कृतिको मौलिकता हराउँदा समाजको कुनै ठुलै सम्पत्ति हराएको महसुस गर्ने सामाजिक वातावरणको अभाव हुँदै गएको छ ।’
साउन महिनामा कम्तीमा एक दिन अनिवार्य रुपमा आफन्तकहाँ गई बस्ने हो भने यस चलनको पुनरुद्धार हुने साहित्यकार गुप्ताको भनाइ छ । पर्यटनको विकास भएकोले धेरैले आफन्तकहाँ त्यत्तिखेर जान्छन् जतिखेर केही पुर्याउनु पर्ने हुन्छ । अन्यथा आफन्तकहाँ जाने चलन करिब हराइसकेको र सबै काम मोबाइलबाटै हुने युगको सुरुआत भइसकेकोले पुनरुद्धार गरिएन भने आफन्तकहाँ जाने चलन बज्जिका समाजबाट पूरै हराउने सर्लाहीका साहित्यकार रामचन्द्र महतो कुशवाहाको भनाइ छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया