धुलिखेलमा टिपरको ठक्करबाट एक पैदल यात्रीको मृत्यु

काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल नगरपालिका–३ बाँसघारीस्थित अरनिको राजमार्गमा शुक्रबार राति सवारी दुर्घटनामा एक ६५ वर्षीय पैदल यात्रीको मृत्यु भएको छ ।

बनेपाबाट धुलिखेलतर्फ जाँदै गरेको बा प्र ०१–००४ क ०१३० नम्बरको मिनि टिपरले पैदल यात्रीलाई ठक्कर दिएको थियो । मृतकको पहिचान उनका गोजीमा फेला परेको स्वास्थ्य सेवा कार्डबाट भएको प्रहरीले जनाएको छ । जसमा उनको नाम लाल ब. तामाङ रहेको उल्लेख छ ।

दुर्घटनामा घाइते भएका तामाङलाई धुलिखेल अस्पतालमा लगिएको थियो । उनको टाउको र खुट्टामा चोट लागेको थियो भने दाहिने कानबाट रगत जस्तो तरल पदार्थ निस्किरहेको थियो । अवस्था गम्भीर रहेकाले उनलाई उपचारका क्रममा राति १२ः३० बजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

घटनामा संलग्न मिनि टिपर र त्यसका चालक पदम लामालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । ३१ वर्षीय लामा महाभारत गाउँपालिकाका निवासी हुन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया