जनकपुरधाम । जनकपुरधामको प्रादेशिक अस्पतालको प्रांगणमा रहेको पोषण पुनःस्थापना केन्द्रमा बालबालिकाहरूका लागि २ कोठे भवनको निर्माण गरिएको छ । वल्र्ड भिजन इन्टरनेसनलको साझेदारीमा एकीकृत ग्रामीण समाज विकास समाज महोत्तरीले निर्माण गरेको २ कोठे भवनको सो कक्षको उद्घाटन मधेसका मुख्यमन्त्री सतिश सिंह तथा स्वास्थ्य मन्त्री शत्रुध्न सिंहले संयुक्त रूपमा गरेका हुन् ।
सो भवनको उद्घाटन गर्दै मुख्यमन्त्री सिंहले यो भवन निर्माणले मधेसको स्वास्थ्य अवस्थामा सुधार ल्याउन टेवा पुग्ने बताए । उनले कुपोषित बालबालिकाहरूको उपचारका लागि भवन निर्माण गरिएकोमा सराहना गरे ।
वल्र्ड भिजनका अनुप राणाले मधेसको पोषणको क्षेत्रमा आफूहरू काम गर्दै आइरहेको जानकारी गराउँदै कुपोषित बालबालिकाको उपचारमा कुनै किसिमको बाधा नहोस् भन्ने अभिप्रायका साथ यो भवन निर्माण गरिएको बताए । यसका साथै उनले पोषणसम्बन्धी अधिकार प्रत्येक बालबालिकाको रहेकाले उनीहरूको अधिकार सुनिश्चित गर्नु नै आफूहरूको उद्देश्य रहेको बताए । वल्र्ड भिजनले सो भवनमा उपचारका लागि आएका बालबालिकाका लागि खेलकुद सामग्रीसमेत सहयोग गरेको छ । सो कार्यक्रममा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. अंकुर साह, डा.विनोद यादव लगायतको उपस्थिति रहेको थियो । सो भवनको निर्माण १९ लाख ५९ हजार ९५९ रुपैयाँमा गरिएको छ ।
प्रतिक्रिया