रौतहट । रौतहटबाट नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको प्रहरी टोलीले २ जनालाई पक्राउ गरिएको हो । पक्राउपर्नेमा सर्लाहीको गोडैता नगरपालिका–८ का ३२ वर्षीय नजरे आलम र सोही पालिकाका २४ वर्षीय इमामुल हक दर्जी रहेको प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको अधारमा चन्द्रनिगाहपुरबाट गएका प्रहरी टोलीले चन्द्रपुर नगरपालिका–१० बालचनपुरस्थित राजकुमार साहले सञ्चालन गरेको महावीर आयल स्टोर्सबाट दुवै जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । आलम र दर्जी दुवै जनाले सुपर स्पेलेन्डर मोटरसाइकलमा पेट्रोल हालिरहँदा शंकाको अधारमा खानतलासी गर्दा उक्त नक्कली नोटसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
यी दुवै जना नक्कली नोट ओसारपसार गर्ने कार्यमा सक्रिय रहेको भन्दै विशेष सूचनाको आधारमा प्रहरीले मोटरसाइकलसहित पक्राउ गरिएको बताए । पक्राउ परेका इमामुल हक दर्जीले चलाएको प्रदेश ०२–०२१ प. ६३६८ नम्बरको सुपर स्पेलेन्डर मोटरसाइकलको सिट कभरमा नेपाली नक्कली नोट १ हजारका दरले १३ थान जम्मा १३ हजार नक्कली नेपाली नोट र मोटरसाइकल प्रहरीले बरामत गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया