बारा । मधेस प्रदेश सरकारका वन तथा वातावरण मन्त्री त्रिभुवन साहले मधेस प्रदेशका १३६ वटै पालिकामा १ करोड बिरुवा रोप्ने योजना आफूले अघि बढाएको बताएका छन । राधाकृष्ण प्रणामी मन्दिर औवधापुरको आयोजनामा कलैया उपमहानगरपालिका–२ स्थित कृष्ण प्रणामी मन्दिर परिसरमा वृक्षरोपण कार्यक्रमको उद्घाटन गर्दै कार्याक्रमका प्रमुख अतिथिसमेत रहेका मन्त्री साहले पालिकामा रहेको खाली जग्गा, धार्मिक तथा पर्यटकीय स्थल, अतिक्रमण खाली गराइएको वन क्षेत्र समेतमा वृक्षरोपण गर्ने योजना वन तथा वातावरण मन्त्रालयले अगाडि बढाएको बताए । मधेस प्रदेशको जनसंख्याको अनुपातमा वन क्षेत्र घट्दै गइरहेकोमा उनले चिन्ता व्यक्त गर्दै वातावरण जोगाउन रुखको महत्वपूर्ण भूमिका रहने उनले बताए ।
‘वन छ त पानी छ, पानी छ त हामी छौँ’ भन्दै उनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्न सबैले वन जोगाउन ध्यान पु¥याउनुपर्ने बताए । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष देवराज पटेलको अध्यक्षतामा भएको कार्यक्रमलाई मधेस प्रदेश सरकारकै वन तथा वातावरण राज्यमन्त्री रञ्जु खंग, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य पारस साह, जनमत पार्टीका राजनीतिक समिति सदस्य प्रभु पटेल, जनमत पार्टीकै जिल्ला अध्यक्ष शिवनाथ पटेल, नेपाली कांग्रेसका लुकेस सिंह, नेकपा माओवादी केन्द्रका नेता मुकेस साह, धर्म गुरु सञ्जय प्रणामी लगायतकाले बिरुवा रोप्नुभन्दा बिरुवा हुर्काउनु महत्वपूर्ण काम भएको बताएका थिए ।
उक्त अवसरमा मन्त्री साह सहितका नेता कार्यकर्ता तथा स्थानीयले मन्दिरमा विधिपूर्वक पूजाआजासमेत गरेका थिए । त्यस क्रममा भजनकीर्तनसमेत गरिएको थियो ।
प्रतिक्रिया