पिपराको एक वडा शतप्रतिशत विद्यालय भर्ना घोषणा

जनकपुरधाम । महोत्तरीको पिपरा गाउँपालिका–५ लाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको छ । सेभ द चिल्ड्रेन, एफसिए तथा रतौली युवा क्लबको सहयोगमा पिपरा गाउँपालिकालाई शतप्रतिशत विद्यालय भर्ना पालिका घोषणा गर्ने अभियानअन्तर्गत पिपराको वडा–५ लाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरिएको हो । सो वडालाई पिपरा गाउँपालिकाका अध्यक्ष रामजानकी यादवले एक कार्यक्रमका बीच शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरेका हुन् ।

घोषणा समारोहलाई सम्बोधन गर्दै पिपरा गाउँपालिकाका अध्यक्ष यादवले शिक्षालाई प्राथमिकतामा राखेर पालिकाले काम गरिरहेको बताए । उनले निजी विद्यालयभन्दा उत्कृष्ट शिक्षकहरू सामुदायिक विद्यालयमा हुँदाहुँदैसमेत सामुदायिक विद्यालयप्रतिको दृष्टिकोण बदल्नु आवश्यक रहेको बताए ।

रतौली युवा क्लबका प्रतिनिधि कृष्णबहादुर भुर्तेलले हामीले विद्यालय बाहिर रहेका ५ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरूलाई विद्यालय पु¥याउने लक्ष्य अनुरूप अभियान चलाइरहेको बताए । यो अभियानलाई सफल पार्नका लागि सरकारी निकाय तथा अभिभावकसँग समन्वय गरेर अगाडि बढिरहेको उनको भनाइ थियो । अहिले हामीले पिपराको २, ३ र ५ वडालाई शतप्रतिशत विद्यालय भर्ना वडा घोषणा गरेका छौँ चाँडै नै बाँकी ४ वडाहरूलाई समेत घोषणा गर्नेछौँ उनले भने ।

पिपरा गाउँपालिकाका शिक्षा संयोजक राजकिशोर झाले यो भर्ना अभियानले अहिले असर नदेखाए पनि आउने दिनमा यसले साकारात्मक असर पक्कै देखाउने दावी गरे । उनले पिपरा गाउँपालिकाकाको ७ वटै वडालाई शिक्षित वडाको रुपमा विकास गर्नका लागि हामी लागि परेको उनको भनाइ थियो ।

पिपरा गाउँपालिका–५ का वडाध्यक्ष हरिशंकर प्रसाद यादवको अध्यक्षतामा भएको घोषणा समारोहमा वडा–३ का वडाध्यक्ष किशोरी अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवनारायण यादव लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया