रुकुम पश्चिम । केन्द्रीय सत्ता गठबन्धनमा आएको फेरबदलसँगै कर्णाली प्रदेश सरकारमा रहेका माओवादी मन्त्रीहरूले राजीनामा दिएका छन् । सोमबार मुख्यमन्त्री यामलाल कँडेललाई माओवादीका तर्फबाट सरकारमा सहभागी भएका चार जना मन्त्रीले राजीनामा दिएका हुन् ।
वीरेन्द्रनगरमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेका उनीहरूले सोमबार नै मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा पत्र बुझाएका हुन् । गत वैशाख १८ गतेदेखि साउन ७ गते ८४ दिनसम्म सरकारमा रहेको माओवादी केन्द्रमा एमाले कांग्रेसको सत्ता समिकरणसँगै कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । माओवादीले आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयको नेतृत्व गरेको थियो । जस अनुसार, माओवादीको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिक विकासमा वीरबहादुर शाही, उद्योगा पर्यटन वन तथा वातावरणमा दुर्गबहादुर रावत र ऊर्जा मन्त्रीमा रणसिंह परियार थिए ।
एमालेको सरकारले निरन्तरता पाउला ?
केन्द्रको नयाँ सत्ता समिकरण अनुसार कर्णाली प्रदेशमा एमालेलेनै सरकारको निरन्तरता पाउने देखिएको छ । २०८० चैत २७ गते मुख्यमन्त्री पदमा यामलाल कँडेल नियुक्त भएका थिए । एमाले कांग्रेस बिचको सत्ता साझेदारीमा सरकार बनेपछी कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल प्रदेश सरकारको नेतृत्वमा आफ्नै निरन्तरता हुनेमा विश्वस्त छन् । माओवादीका मन्त्रीहरुको राजीनामा कुरिरहेका मुख्यमन्त्री कंडेल कर्णालीको सत्ता फेरबदल नहुनेमा आफु विश्वस्त भएको बताए ।
कर्णाली प्रदेशमा यहाँ सरकार बनाउन कम्तीमा पनि २१ सांसदको समर्थन आवश्यक पर्छ । ४० सदस्यीय कर्णाली प्रदेश सभामा एमालेको १० र नेपाली कांग्रेसको १४ सांसद छन् । अंकगणीत अनुसार दुबैदलको समिकरणमा स्पष्ट बहुमत आउछ । दुबै दल मिल्दा एमालेले कर्णालीमा निरन्तरता पाउने देखिन्छ । माओवादीको समर्थनमा एमालेले मुख्यमन्त्री पाएको थियो । अब माओवादी सरकारबाट बाहिरिएपछी एमाले कांग्रेसको नयाँ सरकारमा एमालेका संसदीय दलका नेता समेत रहेका कंडेल मुख्यमन्त्री बन्नेमा आशंका नरेको बताइन्छ ।
प्रदेशमा पहिलो चरणमा सरकार फेरबदल नभएर एमालेलाई नै निरन्तरता दिने छलफल भैरहेको एमालेले दाबी गरेको छ । यता कांग्रेस भने संसदीय दलको नेता बिहिन बनेको अवस्था छ । नेपाली कांग्रेसका संसदीय दलका जीवनबहादुर शाहीविरुद्ध वाइडबडी जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै उनी निलम्बनमा छन् । अहिले कांग्रेस प्रमुख सचेतक हिक्मत विष्टले संसदीय दलमा नेतृत्व गरिरहेका छन् ।
केन्द्रको फेरबदलसँगै कर्णालीका दुई दलले निर्णय भने केन्द्रकै पर्खिरहेका छन् । उनिहरु माथिबाट जे निर्णय आउछ । त्यसमा पर्ख र हेरमा बसेका छन् । माओवादीले सरकार छोडेपछी नयाँ सरकार गठनका चर्चा सुरु भएको छ । सरकारमा एमालेकै निरन्तरता दिनेकी फेरबदल हुने भन्नेमा छलफल चलेपनी एमालेले नै निरन्तरता पाउनेमा एमाले ढुक्क भएको देखिन्छ ।
रुकुम पश्चिम
प्रतिक्रिया