मलंगवा । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । आइतबार करिब १ बजेको समयमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–१ रतनपुरस्थित आफ्नै निवासमा ८० वर्षीय रायको हत्या भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
घरमा एक्लै सुतेको बेला राति १ बजे धारिलो हतियार टाउकोमा प्रहार गरी उनको हत्या भएको अवस्थामा शव फेला परेको हो । सर्लाहीका एसपी रविन्द्र बहादुर श्रेष्ठले घटनाको विषयमा छानवीन भइरहेको जानकारि दिदै पूर्वराज्यमन्त्री रामचन्द्र रायकै घरमा बास बसेका तीन जना मिलेर उनको हत्या भएको खुलेको बताएका छन् ।
रायको निवासमा बेलुका अबेरतिर पुगेका तीन जनाले पूर्वराज्यमन्त्री रायसँग आफूहरूको जग्गा विवाद मिलाइदिन अनुरोध गरेको बताइएको छ । पूर्वराज्यमन्त्री रायकै घरमा काम गर्दै आएका २१ वर्षीय युवकले प्रहरीलाई जनाए अनुसार राति अबेरसम्म पूर्वराज्यमन्त्री राय र उनीहरूबिच कुराकानी भइरहेको थियो । त्यसपछि पूर्वराज्यमन्त्री रायले नै आफूलाई सुत्नका लागि अर्कै कोठामा पठाएको बयान ती युवकले प्रहरीसमक्ष दिएका छन् ।
प्रहरीले पूर्वराज्यमन्त्री रायको घरमा काम गर्दै आएका ती युवकलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार ती युवकले नै राति शौचालय जान निस्किँदा पूर्वराज्यमन्त्री राय सुत्ने कोठाको ढोका खुला देखेर हेर्दा शव देखेपछि आफन्तलाई खबर गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ती युवकले बेलुका आएर पूर्वराज्यमन्त्री रायको घरमा बसेका तीन जनालाई आफूले नचिनेको बताएका छन् । यद्यपि उनीहरूले जग्गाको विषयमा कुराकानी गरेको उनको भनाइ छ । पूर्वराज्यमन्त्री रायलाई घरेलु हतियार प्रयोग गरी हत्या गरेको पाइएको छ । प्रहरीले घटनास्थल नजिकै बाँसको झ्यांगबाट धारिलो हतियार दाउ फेला पारेको जनाएको छ ।
प्रहरीले मुचुल्का उठाएर शव पोष्टमार्टमका लागि सर्लाही सदरमुकाम मलंगवास्थित प्रादेशिक अस्पतालमा लगेको छ । राय करिब ३० वर्षअघि राप्रपाबाट तत्कालिन सरकारको भूमिव्यवस्था राज्यमन्त्री भएका थिए । उनी अहिले पनि राप्रपामै आवद्ध रहेको स्थानीयले बताएका छन् । रायका पत्नी र छोराबुहारी काठमाडौँमा बस्ने गरका स्थानीयले बताएका छन् ।
प्रतिक्रिया