रौतहट । जिल्लाको आर्थिक नगरी गरुडालाई ऐतिहासिक नगरी समनपुरलाई जोड्ने ८ किलोमिटर लामो सडक जिल्लाको सबैभन्दा खराब श्रेणीमा परेको छ । हिउँदभरि दैनिक ५०० सम्म टिपर चल्ने र अन्य सवारी साधन गरी हजारौँको संख्यामा सवारी साधन चल्ने गरुडा समनपुर सडक साढे ८ किलोमिटर सडक खण्डको करिब ७ किलोमिटर सडक खण्ड खाल्डै खाल्डो भएको छ ।
गरुडा नगरपालिकाकी उपप्रमुख पुनमदेवी चौधरीको घरदेखि सुन्दरपुर गढीमाई चोकसम्मको सडक जिल्लाको सबैभन्दा खराब सडकको श्रेणीमा देखिएकोले सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेको छ । सडक निर्माणको ठेक्का भएको २ वर्ष नाघेको र शिलान्यास भएको पनि १ वर्षभन्दा बढी समय बितिसकेको सडकमा ठेकेदारको लापरबाही र दैनिक क्षमताभन्दा बढी समान बोकेका ट्रिपर हिँड्दा हिँड्नै नहुने अवस्थामा पुगेको छ । सो सडक भएर दिनमा ५०० पटकभन्दा बढी टिपर ओहोरदोहोर गर्छन् । स्थानीय सरकारको बेवास्ताको कारण पनि सडक पूर्णतया बर्बाद भएको बताइन्छ ।
सडकमा कतै कतै अढाई फिटसम्म गहिरो खाल्डो रहेको छ । मुस्किलले कतै ५–१० मिटर सडक खाल्डोविहीन अवस्था रहेको छ । नत्र भने गरुडादेखि समनपुर पुलसम्म साना र ठुला गरी करिब २ हजार खाल्डो रहेको स्थानीयको आरोप छ । सडक विभागको ध्यान कहिल्यै नजाने गरुडा समनपुर सडकमा हरेक दिन दुर्घटना हुने गरेको छ ।
उपप्रमुख चौधरीको घरअगाडिको खाल्डोमा गत हप्ता एक रात मोटरसाइकल दुर्घटना हुँदा २ जनाको खुट्टा भाँचिएको थियो । हरेक दिन साइकल र मोटरसाइकल दुर्घटना हुने गरेको खाल्डोमा पानी भरिएपछि धेरै यात्रु लड्ने गरेका छन् ।
मलाही गाउँमा पनि सडकको अवस्था पनि उस्तै बेहाल रहेको छ । केही दिन पहिलेसम्म सडकमै करिब ३ फिटसम्मको खाल्डो रहेकोमा नगरप्रमुख कन्थमुनि प्रसाद कल्वारले ह्युम पाइप हाली फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए ।
सडकको लामो खण्ड गढीमाई नगरपालिकाको भागमा रहेको छ । बागमती नदीको नदीजन्य पदार्थको ढुवानीमा हरेक दिन ५०० टिपर प्रयोग हुने गरेको र वार्षिक करोडौँ रुपैयाँ आम्दानी गर्ने गरेको गढीमाई नगरपालिकाले गरुडा समनपुर सडक खण्डको खाल्डो पुर्न कुनै चासो देखाएको छैन ।
गढीमाईका नगरप्रमुख श्यामप्रसाद यादव आफ्नो घर वीरनगराबाट नगरपालिकाको कार्यालय जाने पहिलेको मूल बाटो छाडेर भित्री बाटो प्रयोग गर्न थालेका छन् । सडकको अवस्था अत्यन्त खराब भएपछि नगरप्रमुख यादवले आफ्नो बाटो नै बदले तर सडकको अवस्था भने बदल्न नसकेको स्थानीयको आरोप छ । उनले पनि सो सडक सुधारका लागि चासो नदिएको भन्दै स्थानीयले गुनासो गरेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया