आठबिसकोट । केहीदिन यता आएको निरन्तर वर्षाका कारण बाढी र पहिरोले सिँचाइ र खानेपानीको हाहाकार भएको छ । रुकुम पश्चिमको आठबिसकोट–१२ को झिन्चौरमा केहीदिन अगाडि आएको बाढीपहिरोले खानेपानी र सिँचाइ कुलो बगाएको छ ।
आठबिसकोट–१२ स्थित झिन्चौरमा आएको बाढीले वडा–९ र ११ मा रहेका खानेपानीको पाइप र सिँचाइ नहर भत्काएको छ । नहरमा पानी नआउँदा धानखेती सुक्ने चिन्तामा छन् यहाँका किसान ।
भीषण वर्षापछिको बाढीपहिरोले खानेपानी र सिँचाइ बगाउँदा राडीबजार, सिमबजार र चौर नजिकैको खेतबारीको सिँचाइ कुलो र खानेपानीको पाइप बगाएको हो । भीषण वर्षाले माथिबाट बाढी पहिरो आउँदा १ किलोमिटर लामो गिजागाड राडी, बगर सिँचाइको कुलो र ४ किलोमिटर लामो गिजागाड बोजाबारी कुलो बगाएको छ भने अन्य ठाउँमा कुलो क्षतविक्षत बनाएको छ ।
पहिरोले कुलो बगाउँदा राडीबजार, बगर, तल्लो राडी र सिमबजार, चौर बोजाबारीका खेतबारीमा पानीको अभाव देखिएको छ । एक्कासि ठूलो पानीसँगै पहिरो आउँदा मुहानमा रहेको पाइपसमेत बगाउँदा राडीबजारमा खानेपानीको समस्या भएको छ । एकातिर खेतबारीमा लगाएको धानबाली सुक्ने पिर त अर्कोतिर खानेपानीको समस्या झेलिरहेको स्थानीय बासिन्दा बताउँछन् ।
धेरै ठाउँमा खानेपानीका मुहान भत्किएका छन् बाढीसँगै बगेर आउने फोहोरका कारण झाडापखालाजस्ता रोगको जोखिम बढेको छ । यो समयमा डेंगु लगायतका रोगको जोखिम पनि बढ्न थालेको छ । बाढीपहिरोले आठबिसकोटमा मात्रै ७५ बस्तीका १ हजार ५६० घरपरिवार बाढी पहिरोको जोखिममा रहेका छन्, भने ६० घरपरिवार बाढीपहिरोबाट बिस्थापित भएका छन् । अझै बर्खाको समय भएकाले बाढीग्रस्त क्षेत्रभन्दा केहीमाथि मूल भए पनि हिउँदमा खानेपानीको चरम समस्या हुने अनुमान गरिएको छ ।
रुकुम पश्चिम
प्रतिक्रिया