मधेस ब्युरो । मुस्लिम धर्मावलम्बीको मोहर्रम पर्व (दाहा) रौतहटमा सामान्यतया शान्तिपूर्ण सम्पन्न भएको छ । जिल्लाको दर्जनौँ ठाउँमा दाहा मनाइएको भए पनि राजपुर नगरपालिकामा भने तनाव उत्पन्न भएको थियो ।
राजपुर नगरपालिका–६ कुडियामा मुस्लिम समुदायले दाहा मनाउने क्रममा करिब ५ हजार मानिसको उपस्थिति रहेको थियो । लाठी, बरछी, भाला, तरबार, गँडास लगायतको घरेलु हतियार प्रदर्शन गर्दै विभिन्न धार्मिक तथा जातीय नारा उत्तेजनापूर्वक लगाइरहँदा प्रहरी प्रशासनले माइकिङ गरेर मुस्लिम अगुवाहरूलाई शान्तिपूर्वक प्रदर्शन गर्न आग्रह गरेको थियो ।
धार्मिक सद्भाव नबिगार्न तथा संयमता अपनाउन र शान्तिपूर्वक पर्व मनाउन रौतहट प्रशासनले गरिरहेको आग्रहलाई नमानेर हिन्दूहरूले छठ पूजा गर्ने घाटमा गएर दाहाको झण्डा गाड्न खोज्दा विवाद उत्पन्न भएको थियो । प्रहरीले हिन्दूहरूको छठपर्व हुने ठाउँलाई जोगाउन खोज्दा मुस्लिम समुदायले भने बलजफ्ती गरेको थियो । मुस्लिम समुदायले सुरक्षाकर्मीमाथि ढुंगा प्रहार गर्न थालेपछि केही बेर स्थिति तनावग्रस्त बनेको थियो ।
केही उच्छृंखल युवाहरूले प्रहरीमाथि ढुंगा प्रहार गर्दै धकेलाधकेल गर्न थालेपछि प्रहरीले अश्रु ग्यास र ब्ल्यांक हवाई फायर गरेका थिए । बिहीबार साँझ साढे ६ बजेदेखि करिब ८ बजेसम्म कुडियाको स्थिति तनावग्रस्त रहेको थियो ।
कुडियाको स्थिति तनावग्रस्त भएपछि नेपाल प्रहरीका रौतहट प्रमुख एसपी दिलीप घिमिरे र सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईं आफ्नै कमान्डमा सुरक्षाकर्मी परिचालन गरेका थिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो उपस्थितिबीच निकै सुझबुझले कुनै अप्रिय घटना हुन नसकेको देखिएको छ ।
मुस्लिम समदायको ढुंगा प्रहारबाट नेपाल प्रहरीका १७ र सशस्त्र प्रहरीका २ गरी १९ सुरक्षाकर्मीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । केही सुरक्षाकर्मीको आँखा तल घाउ लागेको र अन्यलाई सामान्य घाउचोट लागेको प्रहरीको भनाइ छ । घाइते सबै प्रहरीको सामान्य उपचारपछि कार्यालय पठाइसकिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
बिहीबार राती ८ बजेदेखि कुडियाको स्थिति सामान्य भइसकेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी गराएका छन् । अब कुनै किसिमको उच्छृंखल गतिविधि देखिए कडा कदम चालिने प्रजिअ रेग्मीको भनाइ छ ।
मुस्लिम समुदायको बाहुल्य रहेको ठाउँमा हरेक वर्ष रौतहटका कतिपय गाउँमा हिन्दू तथा मुस्लिम समुदायको चाडपर्वमा झडपहरू हुने गरेको छ । मुस्लिम समुदायको इद, बकरिद र दाहा तीन वटै प्रमुख पर्व सम्पन्न भइसकेका छन् ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया