कैलालीमा बस र टिप्पर ठोक्किँदा ६ जना घाइते

धनगढी । कैलालीमा बस र टिप्पर ठोक्किँदा ६ जना घाइते भएका छन् । बिहीबार पूर्वपश्चिम राजमार्गअन्तरगत घोडाघोडी नगरपालिका–४ मा रा १ ख २७३३ नम्बरको टिप्पर र ना ७ ख ४३५ नम्बरको बस आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

दुर्घटनामा परी बसमा सवार ६ जना घाइते भएका छन् । घाइते हुनेमा बस चालक कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ बस्ने २७ वर्षीय चन्द्र बोहरा, गौरीगंगा नगरपालिका–९ की ४० वर्षीया अनिता चौधरी, कैलारीकी अञ्जली चौधरी, धनगढी उपमहानगरपालिका–१९ की २९ वर्षीया माया चौधरी, सोही ठाउँका ४ वर्षीय विपिन चौधरी र एक जना भारतीय नागरिक ३२ वर्षीय सुरेश निगम रहेको जिल्ला प्रहरी कार्यलयका डीएसपी कबिन्द्र बोहराले बताए ।

घाइते सबैको घोडाघोडी अस्पतालमा उपचार भइरहेको छ । चालक चन्द्र बोहराबाहेक अन्यको अवस्था सामान्य रहेको डीएसपी बोहराले बताए । टिप्पर चालक घोडाघोडी नगरपालिका–५ का २५ वर्षीय लालबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया