वीरगञ्ज । यहाँबाट प्रतिनिधिसभामा प्रत्यक्षतर्फ निर्वाचित ३ जना सांसद संघीय सरकारको नवगठित मन्त्रिपरिषद्मा सहभागी भएसँगै पर्सामा पूर्वाधार विकास तथा निर्माणले गति लिने अपेक्षा गरिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा यहाँबाट ३ जना सांसद मन्त्री बनेसँगै यहाँका स्थानीय, बुद्धिजीवी तथा उद्योगी, व्यवसायीमा जिल्लाको समग्र विकास निर्माणसहित राज्यको अन्य क्षेत्रमा उपस्थिति सशक्त र प्रभावकारी हुने विश्वास गरेका छन् ।
पर्साको प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं १ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद प्रदीप यादव खानेपानीमन्त्री नियुक्त भएका छन् । क्षेत्र नं २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद अजयकुमार चौरसिया कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा नियुक्त भएका छन् । प्रतिनिधिसभाको निर्वाचन क्षेत्र नं ३ बाट प्रत्यक्षतर्फ निर्वाचित राजकुमार गुप्ताले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको नियुक्त पाएका छन् ।
जिल्लामा प्रतिनिधिसभाका लागि ४ निर्वाचन क्षेत्र छन् । तीमध्ये क्षेत्र नं १, २ र ३ मा छुट्टाछुट्टै राजनीतिक पार्टीबाट सांसद बनेका ३ जना संघीय सरकारको मन्त्री पदमा नियुक्त भएका छन् । सांसद यादव जनता समाजवादी पार्टीको तर्फबाट, सांसद चौरसिया नेपाली कांग्रेस र सांसद गुप्ता नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट प्रतिनिधित्व गरेका छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवालले पर्साबाट ३ जना मन्त्री हुनु जिल्लाको लागि उत्साहको विषय भएको बताए । ‘यहाँका ३ वटै निर्वाचन क्षेत्रका माननीय सांसद मन्त्री बन्नुभएको छ । यो जिल्लाकै लागि गौरवको विषय हो । जिल्लाबाट एकैपटक ३ जना मन्त्री हुँदा यहाँका सडक, पुललगायत पूर्वाधार विकासका साथै विद्यमान समस्या समाधानमा प्रभावकारी योजना बनाएर अघि बढ्नुहुन्छ भन्ने अपेक्षा लिएका छौँ’, उनले भने ।
अध्यक्ष अग्रवालले फरकफरक राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने मन्त्री यहाँबाट बनेसँगै औद्योगिक तथा व्यापारिक सहर वीरगञ्जमा सकारात्मक ऊर्जा सञ्चार भएको बताए ।
प्रतिक्रिया