राजविराज । सप्तरीको पकरी–डलवा–बाग सडक अलपत्र पारेर ठेकेदार कम्पनी फरार भएको छ । सडकको निर्माण कार्य अलपत्र छाडेर निर्माण कम्पनी फरार भएको हो । मधेस प्रदेश सरकारले पकरी–डलवा–बाग सडकको ठेक्का रमन–आईएसएनबी जेबी जनकपुरधाम धनुषालाई दिएका थियो ।
निर्माण कम्पनीसँग २०७८ चैत ७ गते ३१ करोड २४ लाख ८ हजार ३ सय २४ रुपैयाँ २८ पैसामा(भ्याट बाहेक) सम्झौता गरी २०८० चैत ८ गते सम्पन्न गर्नुपर्ने सम्झौता छ । फागुन–चैतदेखि कछुवाको तालमा महादेवा गाउँपालिका–१ को पकरी, सोनरा गाउँमा ग्राभेल कुनै– ठाउँमा मात्र हालेको कारण अहिले हिलोमा आवतजावत गर्न बाध्य रहेको स्थानीय बताउँछन् ।
सम्झौता गरेर यतिका दिन खानमा तेल हालेर सम्झौताको अन्तिम समयमा निर्माण सुरु गरेर अहिले सडकको काम अलपत्र पारेर ठेकेदार कम्पनी फरार भएको स्थानिय दिपक यादव बताए ।
उक्त सडक भएर दिनहुँ सयौको संख्यामा आवतजावत हुने ठाउँमा ठेकेदार कम्पनीले निर्माण कार्य अलपत्र छोड्दा सर्वसाधारण सास्ती खेप्न बाध्य छन् । हिलोका कारण उक्त ठाउँमा एम्बुलेन्स जान नसक्दा बिरामीलाई बोकेर हुलाकी लोकमार्गसम्म ल्याउनु परेको स्थानिय जयनारायणले बताए ।
ठेकेदार कम्पनीले बस्ती क्षेत्रमा ढलानको काम गर्ने अन्य ठाउँमा कालोपत्रे गर्ने गरी सम्झौता गरेको भौतिक पुर्वाधार कार्यालयका इन्जिनियर दिपेन्द्र यादवले बताए । निर्माण कम्पनीका इन्जिनियर केपी शर्माले विवादित ठाउँमा काम नभएको स्वीकार गरे ।
महादेवा गाउँपालिका–१ का वडाध्यक्ष जयश्वर किशोर दासले वडामा कुनै पनि ठाउँमा बाटो बनाउने विषयमा विवाद नरहेको बताउंँदै ठेकेदार कम्पनीकै लापरबाहीले सडक अधुरो रहेको दाबी गरे ।
प्रतिक्रिया