धरहरीमा निकालियो २५१ कन्याद्वारा कलश यात्रा

रौतहट । रौतहटको देवाही गोनाही नगरपालिकामा नवनिर्मित राधाकृष्ण मन्दिरमा हुने प्राण– प्रतिष्ठाको विशाल कलश यात्रा निकालिएको छ । देवाही गोनाही नगरपालिका– ९ धरहरीमा रहेको राधाकृष्ण मन्दिरको प्रांगणबाट करिब २५१ कुमारी कन्याद्वारा बाजागाजासहित निकालिएको सो कलश यात्रा गरुडा नगरपालिकाको पोठियाही हुँदै शिवनगरस्थित चान्दी खोलामा जल भरेर मन्दिरमा स्थापित गरिएको मन्दिरका पूजारी रामनाथ राय यादवले बताए ।

हिन्दूहरुका अस्थाको केन्द्र राधाकृष्ण मन्दिरमा भगवान श्री कृष्ण र राधाको मूर्तिलाई प्राण–प्रतिष्ठा गर्न कलश यात्रा निकालिएको मन्दिर समितिले जनाएको छ । सो मन्दिरमा प्राण–प्रतिष्ठा भएपछि प्रतिमाको रुपमा रहेको भगवान श्री राधाकृष्णको पूजाआजा गर्ने पूजारी यादवले जानकारी दिए ।

असार ३० गते सुरु भएको यज्ञमा पहिलो दिन कलश यात्रा दोस्रो दिन असार ३१ गते प्राण–प्रतिष्ठा र तेस्रो दिन श्रावण १ गते भणडारा तथा यज्ञ पुर्णाहुति गरिने पूजा समितिले जनाएको छ ।२०६४ साल मंसिर १६ गते स्थापना भएको सो मन्दिर आर्थिक अभावका कारण अधुरो रहेको थियो । लामो समयदेखि अधुरो रहेको मन्दिरलाई देवाही गोनाही नगरपालिका– ३ का वडाध्यक्ष सन्जय पटेलको सहयोगबाट सम्पन भएको छ ।

करिब १७ वर्षदेखि अधुरो मन्दिरलाई स्थानीय रामनाथ यादवले आफ्नो दुई कठ्ठा जग्गा धितोमा राखी शिलान्यास गराएका थिए । धार्मिक आस्थाको रुपमा रहेको राधाकृष्ण मन्दिरलाई स्थानीय स्तरबाट चन्दा संकलन गरि छत ढलानसम्म पुर्याएका थिए । त्यसपछि स्थानीय तहको स्थापना भएपछि वडामा निर्वाचित तत्कालीन वडाध्यक्ष राजेश साहले २०७८ सालमा वडास्तरीय योजनाबाट २ लाख रुपैयाँ छुट्टयाई अधुरो मन्दिरको छत ढलान कार्य सम्पन गराएका थिए ।

तर पनि मन्दिर अधुरो नै रहेर २०७८ देखि नै पलास्टर र रङ रोगनबिना अधुरो मन्दिरमा यता आएर वडा अध्यक्ष पटेलले आफ्नो निजी खल्तीबाट ३ लाख रुपैयाँ सहयोग गरी अधुरो मन्दिरको निर्माण कार्य सम्पन गराएपछि प्राण–प्रतिष्ठा हुन लागिएको पूजा समितिले जनाएको छ । मन्दिरमा स्थापना हुन लागिएको मूर्तिको सम्पूर्ण खर्च स्थानीय जोहन राय यादवले दिएको मन्दिरका पूजारी यादवले बताए ।

पूजारी यादवले यासभन्दा पहिला पनि ठाउँ–ठाउँमा पिपलको रुख रोपेर समाजमा आफ्नो नाम स्थापीत गरी चर्चा कमाएका छन् । कलश यात्रामा देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह, वडाध्यक्ष वीरबहादुर साह, पूर्व वडाध्यक्ष राजेश साह, युवा नेता नन्दकिशोर यादव, विवेक यादव, नागेन्द्र यादव, पनिलाल यादव, रामनरेश ठाकुर, स्थानीय भद्रभलादमी बुद्धिजीवी, ईलाका प्रहरी कार्यालय देवाही गोनाहीका सुरक्षाकर्मीलगायत महिला तथा पुरुष गरी करिब पाँच सयको संख्यामा सहभागीता रहेको थियो ।

प्रतिक्रिया