सिरहा । सडकको काम समयमा सम्पन्न नभएपछि सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीसहित जनप्रतिनिधिहरू सडक डिभिजन कार्यालय लहान अगाडि धर्नामा बसेका छन् ।
राजविराजदेखि छिन्नमस्ता सखडा बजार हुँदै न्योर बोर्डरसम्म निर्माण भइरहेको सडक समयमा सम्पन्न नभएपछि उनीहरू आइतबार सडक कार्यालय अगाडि धर्नामा बसेका हुन् । सो धर्नामा छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष चौधरीसहित वडाध्यक्ष र स्थानीयवासीहरू बसेका छ्न् ।
गाउँपालिका अध्यक्ष चौधरीले लामो समयदेखि सडक खनेर छोड्दा खाल्डाखुल्डी भएर आवतजावतमा समस्या हुँदै भन्दै पटक–पटक कार्यालय र ठेकेदारको ध्यानाकर्षण गराए पनि काम नगरेकाले धर्ना बस्नुपर्ने अवस्था आएको बताए ।
उनले भने, ‘प्रसिद्ध शक्तिपिठ छिन्नमस्ता भगवती मन्दिरसम्म नेपाली र भारतीय दर्शनार्थी आउन समस्या भएको छ, दुर्घटनाको जोखिमसमेत बढेको छ ।’ सडक डिभिजन कार्यालय लहानका प्रमुख, प्राविधिकहरू, सडक विभागसहित सबै सरोकारवाला सरकारी निकायमा पटक–पटक आग्रह गर्दा पनि सडक निर्माणमा तदारुकता नदेखाएको अध्यक्ष चौधरीले बताए ।
प्रतिक्रिया