प्रश्न कालोपाटीमा, उत्तरपुस्तिका विद्यार्थीको जिम्मामा

मधेसमा निःशुल्क परीक्षा लिन ह्विप जारी !

मधेस ब्युरो । मधेसका अधिकांश पालिकाका विद्यालयमा प्रथम त्रैमासिक परीक्षा सञ्चालन भइरहेको छ । केही पालिकाले परीक्षा सञ्चालन गर्नको लागि विद्यालयहरूलाई रकम विनियोजन गरेको भए पनि अधिकांश विद्यालयले परीक्षाको औपचारिक पूरा गरिरहेका छन् ।

रौतहटका केही पालिकाले प्रथम त्रैमासिक परीक्षाको समय तालिका म्यासेन्जरमा उपलब्ध गराएर समयमै परीक्षा सम्पन्न गर्न ह्विप जारी गरेका छन् । नगरपालिकाले निःशुल्क परीक्षा लिन ह्विप जारी गरे पनि कपी र प्रश्नपत्र भने उपलब्ध गराएका छैनन् । आर्थिक रूपमा सक्षम विद्यालयले प्रश्नपत्र र कपी उपलब्ध गराएका छन् भने अधिकांश विद्यालयले परीक्षालाई औपचारिकतामा सीमित गरेका छन् ।

विद्यार्थीले घरबाटै लिएर आएको कपीको पानामा उत्तर लेख्नुपर्ने र शिक्षकले घरबाट बनाएर ल्याएको प्रश्नलाई बोर्डमा लेखिदिने गरेका छन् । शिक्षकले बोर्डमा लेखेको प्रश्नपत्रको भरमा परीक्षार्थीले उत्तर दिँदा २ घन्टाको परीक्षा आधा घन्टामै सकिने र एकले अर्कोको कापी हेरेर सार्न सकिने अवस्था रहेको छ । पालिकाहरूले विद्यालयलाई विद्यार्थीसित परीक्षा शुल्क पनि उठाउन नदिने र प्रश्नपत्र तथा कापी केही पनि उपलब्ध नगराउने भएपछि परीक्षाकै विजोग भएको देखिएको छ ।

पालिका र सरकार दुवैले परीक्षाको नाममा विद्यार्थीलाई ठग्नेबाहेक केही नगरेको स्थानीय बुद्धिजीवीले आरोप लगाएका छन् । सरकारले निःशुल्क शिक्षा भने पनि माध्यमिक शिक्षा परीक्षाको परीक्षा शुल्क विद्यार्थीसित असुल्ने गरिएको छ । तर, विद्यालयले लिने परीक्षाको लागि कुनै पनि शुल्क लिन नपाउने निर्देशन जारी गरेर कक्षा ९ सम्मको परीक्षाको व्यवस्थापन र सञ्चालनमा हस्तक्षेप गरेको छ । अधिकांश विद्यालयसित कुनै आन्तरिक स्रोत नभएको अवस्थामा एक वर्षमा ३ ओटा परीक्षा सञ्चालन र व्यवस्थापन गर्न नसकिने भएकोले परीक्षाको औपचारिकता मात्र पूरा भइरहेको शिक्षकहरूको भनाइ छ ।

परीक्षामा खट्ने कर्मचारी, परीक्षामा लाग्ने साधन, कापी परीक्षण, प्रश्नपत्र र कापी आदिमा लाग्ने न्यूनतम खर्च न त पालिकाले दिएको छ र न त परीक्षार्थीसित नै उठाउन दिइएको छ । अधिकांश पालिकाले सोझै निर्देशन दिएर प्रथम त्रैमासिक परीक्षा सञ्चालन गराएकाले विद्यालयहरूले पनि परीक्षाको औपचारिकता पूरा गरिरहेको पाइएको छ ।

असार मसान्तसँगै मधेस प्रदेशका अधिकांश विद्यालयहरू १ महिनाको लागि बन्द हुँदैछन् । १ वर्षमा ४५ दिन विद्यालय बन्द रहने नियमानुसार १ महिनाको वर्षे बिदा अधिकांश पालिकाहरूले दिँदै छन् । रौतहटको गौर नगरपालिकाले साउन १ देखि भदौ २ गतेसम्म पालिकाका सबै विद्यालयमा गर्मी तथा वर्षे बिदा दिइने सूचना जारी गरिसकेको छ र भदौ ४ गतेदेखि नियमित रूपमा पठनपाठन हुने सूचना सबैको जानकारीका लागि जारी गरिसकेको देखिएको छ । भदौ ३ गते रक्षाबन्धन परेको हुनाले मधेस प्रदेशका अधिकांश विद्यालय भदौ ४ गतेदेखि सञ्चालन हुने देखिएको छ ।
मधेसका सामुदायिक विद्यालयसँगै अधिकांश संस्थागत विद्यालयले पनि प्रथम त्रैमासिक परीक्षा सञ्चालन गरिरहेको पाइएको छ ।

जनकपुरधाम उपमहानगरको नीति तथा कार्यक्रम सार्वजनिक

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१÷०८२ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको १२औँ नगरसभामा नगरप्रमुख मनोजकुमार साहले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

जनकपुरधामलाई सफा, स्वच्छ, सुन्दर तथा सु–संस्कृत बनाउने उद्देश्यसहित उपमहानगरले विभिन्न नीति अवलम्बन गरेको छ । उपमहानगरले फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकतामा राखेको छ । यसका लागि आर्थिक वर्ष २०८१÷०८२ मा बृहत् सेनिटरी ल्यान्डफिल साइट स्थापना गरेर सञ्चालनमा ल्याइने उपमहानगरको नीति तथा तथा कार्यक्रममा उल्लेख छ । नगरभित्र विभिन्न स्थानमा फोहोर संकलन केन्द्र राखिने जनाइएको छ । लामखुट्टे नियन्त्रणका लागि विशेषज्ञहरूसँग सल्लाह गरेर अगाडि बढाइने नीति तथा कार्यक्रममा बताइएको छ ।

उपमहानगरले १ वडा १ पोखरी कार्यक्रमअन्तर्गत प्रत्येक वडामा न्यूनतम एउटा पोखरीको सौन्दर्यीकरण गर्ने, सडकमा पार्किङ व्यवस्थित गर्ने, मैथिली भाषा साहित्य प्रवद्र्धनका लागि मिथिला सांस्कृतिक प्रतिष्ठान गठन गरिने जनाइएको छ । जनकपुरधामका विद्यालयहरूको भौतिक संरचना स्तरोन्नति गर्ने, १ वडा १ खेलको अवधारणाअनुसार खेलकुद पूर्वाधार निर्माण गर्ने, प्रत्येक २ वर्षमा बृहत् खेलकुद महोत्सव आयोजना गरिने र प्रत्येक वर्ष शैक्षिक मेलाको आयोजना गरिनेछ ।

३० लाखसम्मको करदाताको सम्पत्ति करमा ३४ प्रतिशत छुट दिइने, आर्थिक वर्षको पहिलो त्रैमासिकभित्र सम्पति कर बुझाउने पुरुषलाई ५ प्रतिशत र महिलालाई १० प्रतिशत छुट दिइने तथा अनलाइन माध्यमबाट कर तिर्ने प्रणाली स्थापना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । यता उपमहानगरको बजेट असार ३१ गते ल्याइने जनाइएको छ ।

प्रतिक्रिया