बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत् परियोजनाको बाँध दोस्रो पटक फेरि खोलिने भएको छ । एनएचपिसी लिमिटेड र धौलीगंगा पावर स्टेसनले जिल्ला प्रशासन कार्यालयलाई पठाएको पत्र अनुसार यही असार २९ गते शनिबार बिहान ६ बजेदेखि ३० गतेसम्म परियोजनाको बाँध खोलिने जनाएको छ ।
बाँध खोलेका बेला र त्यसपश्चात्का केही घण्टा महाकाली नदीको जलस्तर बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुला, पिथौरागढ भारतबाट प्राप्त पत्र अनुसार वर्षात्का कारण परियोजनाको जलाशयमा पानीको प्रवाह दिनप्रतिदिन वृद्धि भएकाले सरसफाइका लागि बाँधको ढोका खोलिन लागिएको हो ।
बाँध खोलेका बेला नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन र सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । बाँध खोलिएपश्चात् महाकाली नदीमा जलसतह बढ्ने खतरा भएकाले नदी वारपार नगर्न आग्रह गरिएको छ ।
दार्चुलादेखि बैतडी, डडेल्धुरा, कञ्चनपुर हुँदै भारततिर बग्ने महाकालीमा पानीको सतह बढ्नसक्ने भएकाले नदी छेउछाउमा नजान स्थानीय प्रशासनले अनुरोध गरेको हो ।
धौलीगंगा जलविद्युत् परियोजनाको बाँध वर्षात्का बेला हरेक वर्ष खोलिने गरिन्छ । परियोजनाको बाँध खोल्नुपूर्व सतर्कताका लागि जानकारी गराउने गरिएको छ । यसअघि भारतले गएको असार १५ गते बिहान ६ बजेदेखि १६ गते बेलुका ६ बजेसम्म बाँधको ढोका खोलेको थियो ।
विसं २०७० असार २ र ३ गते एक्कासी धौलीगंगाको बाँध खोलिँदा दार्चुला सदरमुकाममा सयभन्दा बढी घर बगाउनुका साथै अर्बौँको क्षति भएको थियो ।– रासस
प्रतिक्रिया