हेटौँडामा प्राथमिक शिक्षक तालिम सञ्चालन हुँदै

काठमाडौँ । हेटौँडामा १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन हुने भएको छ । नवोदय इनोभेसन सेन्टरले आगामी साउनबाट सञ्चालन गर्ने आधारभूत तहको कक्षा ४ देखि ७ लक्षित तालिम कार्यक्रमबारे बुधबार एक पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको हो ।

कार्यक्रममा सार्वजनिक विज्ञप्तिमा भनिएको छ, ‘समयको मागबमोजिम तालिम प्राप्त, प्रभावशाली र शिक्षण कौशलयुक्त शिक्षकको आवश्यकता परिपूर्ति गर्नका लागि हेटौंडामा १ वर्ष अवधिको प्राथमिक शिक्षक तालिम कार्यक्रम सञ्चालन गर्न लागेका हौँ । आधारभूत तह (कक्षा ४–७) का लागि सक्षम शिक्षक तयार गर्ने उद्देश्यका साथ हामीले १ वर्षे डिप्लोमा कोर्स सञ्चालन गर्दैछौँ । यस कोर्सपश्चात् कक्षा ४–७ का लागि बालकेन्द्रित शिक्षण गर्न सक्ने शिक्षक तयार हुनेछन् ।’

कार्यक्रममा बोल्दै सेन्टरका तालिम प्रमुख नरेन्द्रकुमार नगरकोटीले भने, ‘तालिमप्राप्त सहभागीका लागि उचित रोजगारीको व्यवस्था गर्नेछौँ । जसबाट शिक्षण पेशा एक आकर्षक र रोजाइको पेशा बन्न सघाउ पुग्नेछ भन्ने कुरामा हामी विश्वस्त छौँ ।’

वार्षिक परामर्श प्याकेजमार्फत् हाल १० वटा विद्यालयका कक्षाकोठाहरू परिवर्तन गर्न लागिपरेको पनि नगरकोटीले बताए । जसअन्तगत हेटौँडामा २ वटा विद्यालयसँग काम भइरहेको उनले जानकारी दिए । अनेकौँ चुनौतीबीच पनि कक्षाकोठामा आएको परिवर्तनले उत्साहित बनाएपछि १ वर्षे कार्यक्रम घोषणा गरेको उनले बताए ।

कक्षा १२ उत्तीर्ण भएका विद्यार्थीहरू जो भविष्यमा एक सफल शिक्षक बनेर हजारौँ बालबालिकाको प्रेरणाको स्रोत बन्न चाहन्छन्, यस कार्यक्रममार्फत् उनीहरूका लागि सम्भावनाका ढोकाहरू खुल्ने बताइएको छ ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का वडा अध्यक्ष नवीन सिग्देलले हेटौँडा शैक्षिक हब भएको उल्लेख गर्दै यस कार्यमा नवोदयले पु¥याएको योगदानको प्रशंसा गरे । शैक्षिक रुपान्तरणको यात्रामा स्थानीय तहले पनि सहकार्य गर्नुपर्नेमा उनले जोड दिए । कार्यक्रममा बोल्दै हेटौँडा स्कूल अफ म्यानेजमेन्टका प्रिन्सिपल पुरनबहादुर जोशीले मकवानपुर जिल्लालाई शैक्षिक हब बनाउनुपर्ने र त्यसका लागि यस किसिमको कार्यक्रम आवश्यक रहेको बताए ।

कार्यक्रममा नवोदय इनोभेसन सेन्टरसँग सहकार्य गरिरहेका विद्यालयका प्रिन्सिपलहरुले आआफ्ना अनुभव सुनाएका थिए । श्रमिक माध्यमिक विद्यालयका प्रिन्सिपल श्रीराम दाहाल र मकवानपुर बाल विद्या सदनका प्रिन्सिपल सुदीप गिरीले यस किसिमको कार्यक्रमले विद्यालयको समग्र शिक्षण सिकाइमा उल्लेखनीय परिवर्तन ल्याउन सफल भएको अनुभव सुनाउँदै १ वर्षे डिप्लोमा कोर्स सञ्चालन सफलताका लागि शुभकामना दिए ।

पत्रकार सम्मेलनमा नवोदय इनोभेसन सेन्टरका निर्देशक अव्यक्त खनाल, हेटौँडा क्याम्पसका प्रमुख देवीराम लामालगायत उल्लेख्य पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सिएम रिमालले गरेका थिए ।

प्रतिक्रिया