जनकपुरधाम । मधेसमा आइतबार बसेको प्रदेशसभाको वैठक अवरुद्ध भएको छ । भरखरै अगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा व्यापक त्रुटी रहेको आरोप लगाउँदै पुनर्लेखनको मागसहित विपक्षीले अडान लिएपछि प्रदेशसभा बैठक अवरुद्ध भएको हो ।
निर्धारित समयमा सभामुखले बैठक सञ्चालन गर्नासाथ जसपा सांसद राजकुमार गुप्ताले बजेटमा त्रुटी देखाउँदै त्यसलाई सम्बोधन गरेपछि मात्र संसद् चलाउन माग राखे । सांसद गुप्ताले आफ्नो भनाई प्रस्तुत गर्ने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर समर्थन जनाएपछि बैठक अवरुद्ध भएको हो ।
जवाफमा सभामुख रामचन्द्र मण्डलले यसअघि यहीँ विषयलाई लिएर मुख्यमन्त्री र अर्थ मन्त्रीसमेत सरोकारवाला नेताहरूलाई राखेर डेढ–दुई घण्टा छलफल गरी एक प्रकारको सहमतिमा पुगेको बताए । ‘यहीँ विषयमा यसअघि पनि संसद् बैठक स्थगित गरेर मुख्यमन्त्री र अर्थ मन्त्रीलगायत नेताहरूबीच डेढ–दुई घण्टाको छलफलपछि एक निष्कर्षमा पुग्यौँ र बैठक चलेको थियो’, बैठक स्थगितको माग गर्ने सांसदहरूलाई सम्झाउँदै सभामुख मण्डलले भने, ‘फेरि त्यहीँ विषयमा छलफल गर्न उचित होला ?’
सांसद गुप्ताले अघिल्लो छलफलपछि पनि सरकारको तर्फबाट समस्यालाई सम्बोधन गर्न अग्रसरता नदेखिएको उल्लेख गर्दै पुनः छलफलको आवश्यकता परेको र यसलाई टुंग्याएर मात्रै बैठक चलाउन माग दोहो¥याए । त्यसपछि सभामुख मण्डलले १० मिनेटको लागि बैठक स्थगित गरी पुनः छलफलमा बस्न सरकार पक्षलाई बोलाएका थिए । सांसद गुप्ताले बजेटमा कानुन विपरीत भएको कार्यलाई छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग राखेका छन् ।
प्रतिक्रिया