बारा । २ साताअघि गोली प्रहार गरी हत्या गरिएका रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाका प्रमुख हरिभूषण कुशवाहाको हत्यारालाई पक्राउ गर्न माग गर्दै क्याम्पसका विद्यार्थी तथा शिक्षक सडकमा उत्रिएका छन् ।
‘न्याय देऊ’, ‘हत्यारालाई पक्राउ गर’, ‘शान्ति सुरक्षा कायम गर’जस्ता नारा अंकित प्ले कार्ड बोकेर शिक्षक, विद्यार्थी, क्याम्पस सञ्चालक समितिका पदाधिकारी, राजनीतिककर्मीहरू शुक्रबार सडकमा ओर्लिएका हुन् ।
रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैया परिसरबाट निस्केको जुलुस नगर परिक्रमा गर्दै जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको मूल गेटअगाडि सडकमै बसेर करिब एक घण्टा धर्ना दिएका थिए ।
घटनाको निष्पक्ष छानबिन नगरेको र घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाउँदै उनीहरूले प्रहरी प्रशासनविरुद्ध चर्का नाराबाजी गर्दै बिहान ९ बजेदेखि १० बजेसम्म सडकमै बसेका थिए ।
क्याम्पस पोसाकमै आन्दोलनमा होमिएका विद्यार्थीको हुल कलैया–वीरगन्ज सडक खण्डमा धर्नामा बसेपछि १ घण्टा सवारी आवागमनसमेत रोकिएको थियो ।
प्रहरीले अपराधीको पहिचान खुलिसक्दा पनि अज्ञात समूहले गोली चलाएको भनी ढाकछोप गर्नुले सशंकित भएका शिक्षक, विद्यार्थीले प्रहरीलाई सच्चिन आग्रह गर्दै सचेत गराउन सडकमा उत्रिनु परेको बताए ।
धर्ना समापन कार्यक्रमलाई रामराजा क्याम्पसमा अध्यापन गराउँदै आएका शिक्षक रविन्द्र गिरीले प्रहरी प्रशासन अपराधीलाई पक्राउ गर्नुभन्दा पनि घटनालाई ढाकछोप गरेको बताए ।
प्रहरी प्रशासनलाई बारम्बार ताकेता गर्दा पनि प्रहरीले शिक्षक, विद्यार्थीको मौनताको फाइदा उठाउँदै घटनालाई फरक मोडमा लग्न खोजेको बताउँदै रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पस कलैयाका सञ्चालक समिति अध्यक्ष जंगबहादुर चौरसियाले बाराका प्रहरी प्रमुख महेन्द्र खडकालाई अन्तिम चेतावनी दिएका छन् ।
अब पनि प्रहरीले आफ्नो कदम नसच्याए आन्दोलनलाई कडा बनाउने र त्यसको सम्पूर्ण जिम्मेवारी प्रहरीले लिनुपर्ने उनीहरूले बताएका छन् ।
प्रतिक्रिया