
भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८० को नतिजामा ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा आयोजित पत्रकार सम्मेलनमा बोर्डका अध्यक्ष प्राडा महाश्रम शर्माले नतिजा सार्वजनिक गर्दै ४ लाख ६४ हजार ७८५ परीक्षार्थीले परीक्षा दिएको जानकारी दिँदै उतीर्ण भएकामध्ये १८६ जनाले ४ जीपीए ल्याएको बताए । परीक्षामा सहभागी भएकामध्ये ५२.१४ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण भएका छन् । १ लाख १४ हजार ४८ छात्र र १ लाख २८ हजार दुई सय ५७ छात्रासहित कुल दुई लाख ४२ हजार तीन सय १३ परीक्षार्थीको ‘एनजी’ अर्थात् ‘ननग्रडेड’ आएको छ ।
बोर्डका अध्यक्ष प्राडा शर्माले एउटा विषयमा एनजी आउने ६७ हजार ७९३ र दुई विषयमा एनजी आउने ४८ हजार ३८ विद्यार्थी रहेका छन् । २२१ जनाको परीक्षा रद्द भएको उनले जानकारी दिए । यस वर्ष लेटर ग्रेडिङ निर्देशिका, २०७८ अनुसार नतिजा सार्वजनिक गरिएको हो । सैद्धान्तिक ७५ पूर्णांक विषयमा कम्तीमा २७ अंक र आन्तरिक मूल्यांकन २५ पूर्णांकमा कम्तीमा १० अंक प्राप्त गर्नुपर्ने हुन्छ । १ सय पूर्णांकमा कम्तीमा ३७ अंक ल्याउनुपर्ने अन्यथा त्योभन्दा कम अंक आएमा ‘एनजी’ ननग्रेडड आउँछ ।
सबभन्दा बढी गणितमा अनुत्तीर्ण
यस वर्षको एसइईमा सबैभन्दा बढी विद्यार्थीको गणितमा एनजी आएको छ । गणित विषयमा १ लाख ७७ हजार ९८५ विद्यार्थीको एनजी आएको छ । यस्तै विज्ञानमा एक लाख २६ हजार ९३३ तथा अङ्ग्रेजीमा १ लाख १ हजार ३८३ विद्यार्थीको एनजी आएको बोर्डका अध्यक्ष प्राडा शर्माले बताए ।
सामाजिकमा ७३ हजार ८७७, नेपालीमा ६९ हजार ५३२, अर्थशास्त्रमा ६९ हजार ४१६ तथा ऐच्छिक गणितमा २० हजार ३५२ विद्यार्थीको एनजी आएको छ । दुई विषयसम्म एनजी आउने विद्यार्थीको हकमा पुरक परीक्षा आगामी साउन १८ र १९ गतेलाई तोकिएको छ ।
साउनमा परीक्षा गरेर भदौमा नतिजा सार्वर्जनिक गर्ने र यसै वर्ष उनीहरुले कक्षा ११ मा भर्ना हुन पाउने गरी व्यवस्था गरिएको छ । पुरक परीक्षामा पनि उत्तीर्ण हुन नसक्ने विद्यार्थीको हकमा र दुईभन्दा बढी विषयमा एनजी आएका विद्यार्थीले आउँदो नियमित परीक्षामा एनजी आएको विषयको मात्रै परीक्षा दिन पाउने व्यवस्था गरिएको छ ।
यस वर्षको एसइई नतिजामा गत वर्षभन्दा सुधार भएको अध्यक्ष प्राडा शर्मा बताउँछन् । उनका अनुसार माथिल्लो जिपिए ल्याउनेको सङ्ख्या बढेसँगै नतिजा सुधार भएको हो । बोर्डले सार्वजनिक गरेको नतिजा अनुसार यसवर्ष सबैभन्दा बढी अर्थात् ७८ हजार ८७४ विद्यार्थीले २.८० देखि ३.२० जिपिए प्राप्त गरेका छन् । सबैभन्दा कम ६ विद्यार्थीले १.६० देखि २.० जिपिए ल्याएका छन् ।
त्यस्तै १८६ विद्यार्थीले ४ जिपिए, ३१ हजार २०९ जनाले ३.६० देखि ४.० जिपिए, ६८ हजार २५६ जनाले ३.२० देखि ३.६० जिपिए र ७८ हजार ८७४ जनाले २.८० देखि ३.२० जिपिए, ४१ हजार १७७ जनाले २.४० देखि २.८० जिपिए र २ हजार ९५० जनाले २.०० देखि २.४० जिपिए ल्याएका छन् ।
यस्तो छ प्रदेशको नतिजा
आज सार्वजनिक भएको नतिजा अनुसार यस वर्षको एसइई परीक्षामा सबैभन्दा बढी बागमती प्रदेशबाट ९९ हजार ८७२ विद्यार्थी सहभागी भएकामा ३३ हजार ८४३ जनाले ननग्रेड (एनजी) पाएका छन् ।
त्यस्तै, लुम्बिनी प्रदेशबाट ८० हजार ३२७ विद्यार्थी सहभागी भएकामा ४९ हजार २२४ जनाको ननग्रेड (एनजी) आएको छ । मधेस प्रदेशमा ७९ हजार ५९२ विद्यार्थी सहभागी भएकामा ४२ हजार २८६ जनाले ननग्रेड (एनजी) तथा कोशी प्रदेशमा ७५ हजार ९८८ जना सहभागी भएकामा ३९ हजार ८९५ जनाको ननग्रेड (एनजी) आएको छ ।
गण्डकी प्रदेशमा ४० हजार ५२६ विद्यार्थी सहभागी भएकामा २० हजार २७५ जनाको ननग्रेड (एनजी) आएको छ भने कर्णाली प्रदेशबाट परीक्षामा ३५ हजार ३४ जना सहभागी भएकामा २० हजार ३८० जनाको ननग्रेड आएको छ । सुदूरपश्चिम प्रदेशमा भने ५३ हजार ४४६ विद्यार्थी सहभागी भएकामा ३६ हजार ४१० जनाको ननग्रेड आएको छ । उनीहरुले पुरक परीक्षामा सहभागी हुनुपर्ने छ ।
प्रकाशित नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षणसमेत गराउन सक्ने व्यवस्था छ । पुनर्योगका लागि परीक्षार्थीले आफूले पुनर्योग गर्न चाहेका विषयका लागि कार्यालयको वेवसाइटमा गई पुनर्योग फाराम भरी आवेदन दिने व्यवस्था रहेको परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए ।– रासस
प्रतिक्रिया