रौतहट । जिल्लाको २ वटा नगरपालिकाले बजेट ल्याएका छन् । बुुधबार कटहरिया नगरपालिकाले बजेट ल्याएको छ भने बिहीबार गरुडा नगरपालिकाले बजेट ल्याएको हो । गरुडास्थित कलवार धर्मशालाको प्रांगणमा बजेट अधिवेशन बोलाइएको थियो । नगरप्रमुख अजय कन्थमुनि जयसवालको अध्यक्षतामा सो नगरसभा सम्पन्न भएको हो ।
‘समृद्ध नगर : खुसी नगरबासी’ लक्ष्यका साथ नगरपालिका नगर कार्यपालिकाबाट पास गरेको नीति तथा कार्यक्रम कार्यान्यवन गर्न ४६ करोडभन्दा बढी बजेट विनियोजन गरेको हो । सो नगरपालिकाको ११औँ नगरसभा तथा आठौँ बजेट अधिवेशनबाट आर्थिक वर्ष २०८१/०८२ का लागि कुल ७० करोडभन्दा बढीको अनुमानित बजेट प्रस्तुत गरेको छ ।
नगरसभाको प्रमुख अतिथिको रूपमा मधेस प्रदेशका युवा तथा खेलकुदमन्त्री प्रमोद जयसवाल रहेका थिए । गरुडा नगरपालिकाले नगरको समग्र विकासका लागि ७० करोड २० लाख ५९ हजार रुपैयाँ आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
अधिवेशनमा उपमेयर पुनमदेवी चौधरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी थिइन् । नगरसभाबाट यसपालि शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी लगायतलाई विशेष प्राथमिकता दिइएको छ ।
कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहम्मद मुस्ताक आलमले स्वागत मन्तव्य राखेका थिए । हरेक वर्ष असार १० गते बजेट ल्याउनुपर्ने प्रावधान रहेको छ । तर गरुडा नगरपालिकाले सो समयअवधि अगावै नगरसभा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । सो अवसरमा जनप्रतिनिधिहरू, पत्रकार, सुरक्षाकर्मी, कर्मचारीहरू सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया