नवलपुरमा मानव-वन्यजन्तु द्वन्द : ११ महिनामा ५ जनाको मृत्यु, ५८घाइते

नवलपुर । वन वातावरण संरक्षणका क्षेत्रमा मुलुकले प्राप्त गरेको उपलब्धिका कारण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको प्रशंसा हुने गरेको छ । अन्तर्राष्ट्रिय मञ्चमा चर्चा बटुले पनि पछिल्लो समयमा बढेको मानव–वन्यजन्तु द्वन्द्व र त्यसबाट बर्षेनी हुने दजनौँ मानवीय क्षति तथा सरकारले व्यहोर्नुपर्ने करोडौँ रकमको क्षतिपूर्तिले भने बेला बेलामा प्रश्न उठ्ने गरेका छन् ।

खासगरी संरक्षित क्षेत्र वरपर बढ्दो जनघनत्व तथा अव्यवस्थित भू–उपयोगका कारण वन्यजन्तुको वासस्थानमा भएको क्षयीकरण एवं सङ्कुचनले गर्दा वन्यजन्तु आफ्नो वासस्थान छोडेर मानव बस्तीमा पस्ने गरेका छन् । यसबाट संरक्षित क्षेत्र वरपर बसोबास गर्ने समुदायले वन्यजन्तुबाट मानवीय तथा आर्थिक क्षति व्यहोर्नु परिरहेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज सँग जोडिएको र निकुञ्जको मध्यवर्ती क्षेत्रको ठूलो हिस्सा ओगटेको नवलपुरमा समेत पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्व बढदै गएको सरकारी तथ्यांकले देखाएको छ मुख्यतः हात्ती, बाघ, गैँडा, चितुवा, भालु, जङ्गली कुकुर लगायतका वन्यजन्तुको आक्रमणबाट चालु आर्थिक वर्षको ११ महिनाको समय अवधिमा नवलपुरमा मात्रै ५ जना को मृत्यु भने ५८ जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा चालू आर्थिक वर्षको १० महिनामा वन्यजन्तुको आक्रमणका ४ सय २ वटा घटना भएका छन् । वन्यजन्तुको आक्रमणबाट नवलपुरका ५ जना सहित ७ जनाको मृत्यु भएको छ भने १२ जना सख्त र १५ जना सामान्य घाइते भएका छन् ।

वन्यजन्तुले पशु, गोठ र भण्डारण गरेर राखेका तथा खेतबारीका अन्नबालीमा समेत क्षति पुर्‍याएको चितवन राष्ट्रिय निकुञ्जको तथ्यांकले देखाएको छ ।
मानव-वन्यजन्तु द्वन्द्वका घटनाबाट वन्यजन्तुमा पर्न जाने क्षतिलाई कम आँक्न मिल्दैन । नवलपुरमा मात्रै पछिल्लो ४ महिना यता ४ वटा पाटे बाघ र १ वटा चितुवा मरेका छ्न । मरेका ४ मध्ये ३ वटा बाघ र १ वटा चितुवा मानव वन्यजन्तु द्वन्दको कारण मरेका डिभिजन वन कार्यालय कावासोतीका प्रमुख बसन्त केशव अधिकारीले बताए ।

सरकारी तथ्याङकलाई हेर्दा पछिल्लो केही वर्षहरु सरकारी निकायले वन्यजन्तुबाट हुने डर घटाएर वन्यजन्तु संरक्षणमा स्थानीयलाई उत्प्रेरित गराउन नसकेको देखिएको हो । वन्यजन्तुको संख्या बढेसँगै उनिहरुको उचित व्यवस्थापन हुन नसक्दा मानव वन्यजन्तु द्वन्द बढदै गएको सरोकारवालाहरु बताउछ्न ।

सामुदायिक वन, मध्यवर्ती क्षेत्र भित्र चरिचरनका लागि घाँसे मैदान, पिउने पानीको स्रोतको अभाव हुँदा वन्यजन्तु मानव बस्तीमा प्रवेश गर्दा पछिल्लो समय मानव वन्यजन्तु द्वन्द बढदै गएको मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ढुंगाना बताउछ्न ।

पछिल्लो समय संरक्षण प्रति स्थानियलाई उत्प्रेरित गर्न नसक्नु पनि मानव वन्यजन्तु द्वन्दको अर्को कारण भएको उनको भनाई छ । केहि वर्ष अगाडी सम्म निकुञ्जको आम्दानीको ३० देखि ५० प्रतिशत रकम मध्यवर्ती क्षेत्रमा रहेका उपभोक्ता समिति मार्फत स्थानीय जनतामा पुग्ने बजेट घटदै गएकोले पनि स्थानीय स जनताले चासो घटाउदै गएको ढुंगानाले बताए ।

मानव वन्यजन्तु द्वन्द्व बढनुको मुख्य कारण राज्यको व्यवहार नै रहेको मध्यविन्दु नगरपालिका का प्रमुख भिमलाल अधिकारी बताउछ्न । जैविक विविधता र पर्यापर्याटन संरक्षणमा स्थानिय जनता जति नै लाग्दा पनि त्यसको प्रतिफल जनता सम्म आउन नसकेको प्रमुख अधिकारीले बताए । सबै भन्दा धेरै संरक्षणमा नदि तटिय क्षेत्र , जंगल र निकुञ्ज सँग जोडिएका स्थानियको योगदान छ तर संरक्षण प्रतिफलमा त्यै समुदाय छुटनु नै अहिलेको मानव वन्यजन्तु द्वन्दको कारण भएको अधिकारीको भनाई थियो ।

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया