फूल खेतीले जीवनमा सुवास छर्दै रामाशंकर

मधेस ब्युरो । रौतहटको कटहरिया नगरपालिका–५ निवासी रामाशंकर महतोको खेतमा ढकमक्क सयपत्री फूल फुलिरहेका छन् । सयपत्री फुलेको दृश्यले गरुडा–कटहरिया मार्गमा हिँड्ने जो कोहीलाई आकर्षित गर्दछ । तराइमा यति बेला सयपत्री फूललाई बेमौसमी मानिन्छ । तर महतोले चारकट्ठा खेतमा बेमौसमी फूल लगाएर सबैको ध्यान तानेका छन् ।

उनको फूलबारी सँगैको बाटो भएर हिँड्ने जो कोहीलाई लाग्न सक्छ, ‘यो व्यावसायिक फूल खेती हो भन्ने ।’ चार कट्ठामा जमिनमा कोही पनि घरमा पूजा गर्न वा खेतको शोभाको लागि फूल रोप्दैन । जहाँ छरछिमेकको खेतमा चैते धान तथा तिल र मुङदाल लहराइरहेको छ त्यहीँ महतोले आफ्नो खेतमा अरुभन्दा फरक किसिमले सयपत्री फूल फुलाउन सफल भएका छन् ।

चार कट्ठामा सत्रपत्री लगाएका महतोले गत बैसाख महिनामा मात्र डेढ लाख रुपैयाँको फूल बेचेको सुनाए । एक महिना बेचेर डेढ लाख रुपैयाँको आम्दानी गरेका महतो भन्छन्, ‘जेठ र असार महिनामा फूल बेचेको हिसाब गरेको छैन । तर अपेक्षा गरेको जस्तो फूल बिक्री भएको छैन ।’ अरुले हेर्दा र सुन्दा आम्दानी राम्रो देखिए पनि उनी अझै सन्तुष्ट छैनन् ।

अहिले फूलको बिक्रीको सिजन होइन । चाडवाड, विवाह, सार्वजनिक कार्यक्रमको चटारो र धार्मिक मेलाहरु लाग्ने सिजनमा भने फूलको लागि मारामार हुन्छ । सम्भवतः यसैले अपेक्षा गरेको जस्तो फूलको बिक्री नभएको हुन सक्छ । फूलको बिक्रीको लागि खासै कुनै पहल गर्न नसकेको र कटहरिया बजारमा एउटा बिक्री केन्द्र खोलेर व्यवसाय गर्दै आएको महताले बताए ।

फूलको खासै बजार अहिले छैन । फूललाई सहरी क्षेत्रसम्म पु¥याउन सकिएको छैन । यसले गर्दा खेतमै फूल सुक्न थालेको छ । फूल खेतमै सुक्दा आफूलाई निकै घाटा भएको महतो बताउँछन् । स्थानीय सरकारले फूलको बजारीकरणमा सहयोग गरेको भए धेरै सहयोग हुन्थ्यो तर स्थानीय सरकारलाई यस प्रकारको व्यावसायिक खेतीप्रति कुनै चासो नै नभएको गुनासो रहेको छ । कटहरिया नगरपालिकामा खपत हुने फूल चाहिँ मुख्य गरी कटहरिया बजारमा रहेको पसलबाट सर्वसाधारणले किन्न थालेकोमा भने आफूलाई खुसी लागेको महतो बताउँछन् ।

फूलखेती गर्नको लागि धैर्य र लगानी दुवै चाहिने उनको अनुभव छ । मंसिर पुसदेखि फूलखेती गर्दा फागुनदेखि असारसम्म फूल लाग्ने हुन्छ । यसरी सामान्यतया अन्य बालीको तुलनामा फूलखेतीके केही बढी समय चाहिने र लगानी उठ्ने कुनै निश्चित नै नहुने महतोको अनुभव छ । फलफूल र तरकारीका साथै खाद्यान्न जस्तो दैनिक उपभोग्य वस्तुको रुपमा फूल आवश्यक नभएको कारण यसको बिक्री अपेक्षाभन्दा कम भएको महतो बताउँछन् ।

छोरा, छोरी र पत्नीसहित परिवारका सम्पूर्ण सदस्य मिलेर फूल खेती गर्ने गरेका महतोले फूलखेती गर्न भारतबाट सिकेका हुन् । पहिले इँटा उद्योगमा मजदुर रहेका महतोले आफैँले फूलको व्यावसायिक खेती गर्ने हुनसम्म आफ्नै किसिमले संघर्ष गरेका छन् । इँटा उद्योगमा दिन र रात काम गर्दा पनि परिवार चलाउन र सम्मान पाउन निकै गाह्रो थियो ।

भारतको सीमावर्ती बजार घोडासहनमा परिचितले फूलखेती गरेको देखेर सिकेका र त्यहीँबाट प्रभावित भएका महतोलाई मौसमअनुसार फूलखेती गर्न आउँछ तर बजार भने अन्य फूलको छैन । त्यसैले महतोले मौसमअनुसार फुल्ने सयपत्री फूलकै खेती गर्दछन् । गत चार वर्षदेखि फूलखेती गर्दै आएका महतोले अहिले चार कट्ठामा दुई किसिमको सयपत्री फुलाउन सफल भएका छन् ।

अहिले रातो र सेता गरी दुई खेतमा दुई किसिमको सयपत्री फुलाएका महतो भन्छन्, ‘सर्वसाधारणलाई सेतोभन्दा रातो फूल धेरै मन पर्ने रहेछ ।’ तर पनि फूल मन नपार्ने को होला !

बाटोमा हिँड्नेहरुले पनि एकछिन रोकिएर कम्तीमा सेल्फी खिचेर जाने गरेका छन् । हेर्दै आकर्षक लाग्ने फूलखेतीमा लगानीको तुलनामा आम्दानी धेरै छ । अन्य बालीको तुलनामा परिश्रम धेरै गर्नुपर्छ तर सबै फूल बिक्री हुने हो भने आम्दानी पनि निकै हुने महतोको भनाइ छ । तर फूल लागेर ढकमक्क भइसकेपछि पनि बिक्री नहुने हो भने फूलको सौन्दर्यले मात्र पेट पाल्न सकिने रहेनछ । फूलखेतीले अहिलेसम्म खासै असन्तुष्टि नदिए पनि अपेक्षाअनुसार आम्दानी नभएको र फूल खेर जाँदा मनमा दुःख लाग्ने गरेको महतो बताउँछन् ।

उनले बेमौसमी फूलको बीउ कलकत्ताबाट ल्याउने गरेको बताए । कलकत्ताबाट निकै महँगोमा फूलको बीउ ल्याएर खेती गर्ने गरेको बताउँदै महतो भन्छन्, ‘कम्तीमा नगरपालिकाले पुष्पखेतीलाई सकारात्मक दृष्टिकोणले हेरिदिए पुग्छ ।’ लगातार चार वर्षदेखि फूलखेती गरिरहेको कारण विस्तारै सर्वसाधारणलाई थाहा हुँदै गएको र बेला मौका फूल तथा मालाको आवश्यकता पर्दा आफूलाई सम्पर्क गर्ने गरेको बताउँदै महतो भन्छन्, ‘गाउँ समाजमा हुने सामाजिक तथा धार्मिक कार्यक्रमहरुमा पनि खेतबाटै सोझै फूल र माला माग्नेहरु बढिरहेका छन् ।’ विस्तारै फूलको बेपारमा वृद्धि हुने आत्मविश्वास महतोमा रहेको छ ।

तराइमा बेमौसमी खन्न वाली वा तरकारी खेती देखेकाका लागि यो नौलो भए पनि सफल भएको छ । तर, नयाँ किसिमको खेती गरी आफ्नो साहस र परिश्रमले पहिचान बनाउँदै गएका फूलखेती गर्ने किसान महतो आफैँमा एक उदाहरण बनेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया