प्रधानाध्यापक कुशवाहाले भने– अझ बढी दिएर जान पाऊँ

मधेस ब्युरो । रौतहटको देवाही गोनाही नगरपालिका– ७ स्थित उचिडिहस्थित आधारभूत विद्यालयका प्रधानाध्यापक मुक्तिप्रसाद कुशवाहालाई समुदायले नै सम्मान गरेको छ । सम्मान ग्रहण गर्दा कुशवाहा अत्यन्त भावुक भए ।

भावुक भएर कुशवाहाले संक्षिप्त मन्तव्य राख्दै भने, ‘विद्यालयलाई अझ बढी दिएर जान पाऊँ ।’
आफू विद्यालयमा शिक्षकको रुपमा हाजिर हुन आउँदा विद्यालयको कार्यालयमा हाजिरी रजिस्टरसमेत राख्ने अवस्था नरहेको सम्झँदै प्रअ कुशवाहाले भने, ‘म तत्कालीन हेडसरको घरमा गएर नै विद्यालयको हाजिरी रजिस्टरमा हाजिरी गरेको हुँ ।’

विद्यालयलाई एक कठ्ठा सात धुर घडेरीको जमिन उपलब्ध गराएको कारण समुदायले प्रअ कुशवाहालाई सम्मानित गरेको हो । प्रअ कुशवाहाले आफ्नो निजी लगानीमा गाउँको बिचमा रहेको विद्यालयमा एक कठ्ठा सात धुर जमिन किनिदिएर विद्यालयको नाममा पास गरिदिएका छन् ।

अहिले विद्यालय भवन बनिरहेको छ । प्रअ कुशवाहा भन्छन्, ‘विद्यालयको प्रांगणमा म आफ्नै लगानीमा सरस्वती मन्दिरको निर्माण गराउँछु ।’ आगामी केही दिनमै मन्दिरको शिलान्यास गरिने प्रअ कुशवाहाले सार्वजनिक प्रतिबद्धता व्यक्त गरेका छन् । यसैगरी, विद्यालयलाई कक्षोन्नति गर्दै माध्यमिक तहसम्म पुर्याउने आफ्नो चाहना रहेको प्रअ कुशवाहाको भनाइ छ ।

विद्यालयमा भवन पूरा गरिदिने तथा अन्य सुविधाहरुले पनि विद्यालयलाई सम्पन्न गरेर माध्यमिक तहसम्म विद्यालय सञ्चालन गरेपछि समाजले भनेजस्तै आफूले गर्न तयार रहेको प्रअ कुशवाहाको भनाइ छ । प्रअ कुशवाहालाई देवाही गोनाही नगरपालिकाका नगरप्रमुख प्रेमलाल साहले सम्मानित गर्दै प्रशंसा गरेका छन् ।

विद्यालयमा विभिन्न किसिमको राजनीति हुने गरेको र सकारात्मक कामलाई पनि केही मानिसले प्रभावित गर्न खोजेको बताउँदै नगरप्रमुख साहले सबै किसिमको नकारात्मक विचारलाई चिर्दै विद्यालय सही किसिमले सञ्चालन भएको र विद्यालयले जग्गा प्राप्त गरेको बताएका छन् । नगरप्रमुख साहले विद्यालयलाई जमिन दिने कुराको पनि विरोध भएकोतर्फ संकेत गरेका छन् ।

विद्यालयलाई निजी लगानीमा जमिन किनिदिएकोमा नगरपालिकाको तर्फबाट नगरप्रमुख साहले पहिले नै सम्मानित गरिसकेका छन् । प्रअ कुशवाहालाई भवन निर्माण समिति, पूर्वविद्यालय व्यवस्थापन समिति तथा स्थानीयरुपमा सक्रिय आम जनता पार्टीलगायत समुदायले सम्मानित गरेको हो ।

प्रअ कुशवाहालाई सम्मानित गर्दै स्थानीयबासीले निकै प्रशंसा गरेका छन् । विद्यालयमा जमिन दिन तथा विद्यालयको निर्माणमा आफूहरुले दिएको भन्दा धेरै बढी योगदान प्रअ कुशवाहाको रहेको भन्दै खुलेरै प्रशंसा गरेका छन् ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया