काठमाडौँ । चलचित्र रिलिजको सफल ५१ दिन मनाएको नेपाली चलचित्र ‘बोक्सीको घर’का लेखक तथा निर्देशक सुलक्षण भारतीले आफूलाई निर्माता पक्षले वास्ता नगरेको बताएका छन् । उनले फेसबुकमा लामो स्ट्याटस लेख्दै सो चलचित्र नितान्त आफ्नो कृति रहेको र निर्माता पक्षले यसमा ध्यान नदिएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘यस चलचित्रमा मुख्य कलाकार, लेखक, निर्देशक तथा अभिनय प्रशिक्षकको भूमिकामा म सुलक्षण भारतीले काम गरेको छु । यहाँ आफ्नो लागि आफैँले बोल्नुपर्ने रहेछ र लड्नुपर्ने रहेछ । यी मेरा प्रश्नहरू हुन कसैप्रति आक्षेप भने होइनन् । प्रश्न गर्न पाउनु मानिसको नैसर्गिक अधिकार पनि हो ।
यो ५१ दिनमा मैले गरेको अनुभवबाट उब्जिएका मेरा केही प्रश्नहरू हुन् । ‘काम गर्ने कालु माम खाने भालु’ के यो उखानले सार्थकता राख्छ ? यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुनै पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकको उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ?’
उनले आफ्नो सिर्जनाको हिसाबले हेर्दा सर्जकको मृत्यु भएको अनुभव गरेको बताएका छन् । उनले भनेका छन्, ‘म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो ? जसले जे काम गरेको छ त्यसको उचित मूल्यांकन हुन पनि जरुरी छ वा छैन ? लेखक तथा निर्देशक आर्थिक तथा सामाजिक रूपमा कमजोर छ भन्दैमा उसलाई बेवास्ता गर्नु न्यायोचित होला र ? के लेखक तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र ?’
सुलक्षणले बौद्धिक चोरीको बारेमा पनि बोलेका छन् । ‘बौद्धिक चोरी भनेको के हो ? ‘बोक्सीको घर’ आखिरमा कसले बनाएको चलचित्र हो ? अब फेरि जीवनमा म जस्ताले चलचित्र किन र के का लागि बनाउने ? दर्शक र सर्जकबीचको पुल भनेको अहिलेको समयमा सञ्चार माध्यम हो । यस विषयमा कसले ध्यान दिने ? एउटा सर्जक र उसको कामको मूल्यांकन के आवश्यकताको विषय होइन र ?’, उनले भनेका छन् ।
चलचित्रमा सुलक्षण स्वयं अभिनेत्री केकी अधिकारीको श्रीमान्को भूमिकामा प्रस्तुत छन् । यसमा केकी र सुलक्षणसहित रमा थपलिया, स्वेच्छा राउत, सुष्मा निरौला, सबिन बास्तोला, सेबिता अधिकारी आदिको अभिनय छ । चलचित्रमा केकीका बाबु तथा निर्देशक बद्री अधिकारी निर्माता र राज घिमिरे कार्यकारी निर्माता छन् ।
प्रतिक्रिया