विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द

गर्मीले पहाडी क्षेत्रको जनजीवन प्रभावित

आठबिसकोट । तराई क्षेत्रमा जस्तै मध्य तथा पहाडी क्षेत्रमा पनि केहीदिन यता अत्यधिक गर्मी बढ्दै गएको छ । लामो समयदेखि पानी नपर्दा रुकुमपश्चिममा अत्यधिक गर्मीका कारण विद्यार्थीहरू धमाधम बिरामी पर्न थालेका छन् । गर्मीका कारण कक्षाकोठामै विद्यार्थी बेहोस हुन थालेपछि शैक्षिक संस्था बन्द गरिएको हो । जिल्लाको आठबिसकोट नगरपालिकामा गर्मी बढेसँगै विद्यार्थीहरू बिरामी पर्न थालेका हुन् । गर्मी बढेपछि अधिकांश विद्यालय बन्द गरिएको छ । असार पहिलो सातासम्म पनि पानी नपर्दा दैनिक तापक्रम बढ्दै गएको छ ।

आठबिसकोट नगरपालिका–१० स्थित जनता मावि झिन्चौरमा गत जेठ १८ गतेदेखि दैनिक ६–७ जनाका दरले विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय बन्द गरिएको प्रधानाध्यापक पूर्णबहादुर चन्दले जानकारी दिए । उनले भने, ‘विद्यार्थीहरूमा टाउको दुख्ने, बेहोस हुने, काप्ने, ज्वरो आउनेजस्ता समस्या देखिएपछि विद्यालय बन्द गरेका छौँ ।’ दैनिक रूपमा बिरामीको संख्या बढ्दै गएपछि असार ८ गतेसम्म विद्यालय गरिएको चन्दले बताए । विद्यालयले एक सूचना जारी गर्दै विद्यालय बन्द हुने जानकारी गराएको छ । आठबिसकोटमा रहेका निजी विद्यालयले पनि बिदा दिएका छन् ।

पहाडी क्षेत्रमा बढ्दो तापक्रमका कारण जनजीवन प्रभावित बनेको छ । निजी तथा सरकारी विद्यालयहरू बन्द भएका छन् । विहान सूर्योदय भएसँगै साँझसम्म एकैनासको टन्टलापुर घाम लाग्दा अत्यधिक गर्मीले जनजीवन प्रभावित बनेको हो । चर्को घामका कारण घर बाहिर निस्कन सक्ने अवस्था नभएको स्थानीय बताउँछन् । गर्मीका कारण बजार क्षेत्रका मुख्य सडक सुनसान बनेका छन् । समयमै पानी नपर्दा एकातिर बिरामी हुने चिन्ता र अर्कोतिर किसानले लगाएको मकैखेती सुक्ने पिर बढिरहेको छ ।

रुकुममा दैनिक अधिकतम तापक्रम ३८ दशमलव २ डिग्री सेल्सियस र न्यूनतम तापक्रम २५ डिग्री सेल्सियस पुग्ने गरेको छ । गर्मीका कारण घाउ, खटिरा आउने, झाडापखला लाग्ने, ज्वरो आउने लगायतका सरुवा रोगका बिरामीहरू बढ्दै गएका छन् । आठबिसकोट नगर अस्पतालका अनुुसार दैनिक रूपमा बिरामीको संख्या बढ्दै गएको छ । दैनिक भाइरल ज्वरो, टाइफाइड, झाडापखालाजस्ता रोगका बिरामी बढ्न थालेको चिकित्सकहरू बताउँछन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया