काठमाडौँ । भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा गत २३ जेठदेखि सुरु भएको चौथो नेपाल आदिवासी जनजाति चलचित्र महोत्सवमा मगर भाषाको चलचित्र ‘रोस’ ले ४ वटै विधामा उपाधि जित्न सफल भएको छ । चलचित्र ‘रोस’ले उत्कृष्ट चलचित्र, उत्कृष्ट निर्देशन, उत्कृष्ट कलाकार र उत्कृष्ट पटकथामा उपाधि हात पार्न सफल भएको हो । पाल्पाको निस्दी गाउँपालिका–५ गल्धाको खरकडाँडामा मगर जातिको परम्परागत नाच घाँटुसँग सम्बन्धित रहेर चलचित्र छायांकन गरिएको हो । ‘रोस’ को अर्थ मगर भाषामा चलनचल्ती भन्ने हुन्छ । विशेषतः पूर्वी पाल्पाको निस्दी गाउँपालिकामा लोपोन्मुख घाँटु नाचलाई संरक्षण गर्ने उद्देश्यले चलचित्र निर्माण गरिएको निर्देशक बुद्धसुनारी मगरले जानकारी दिए ।
मगरहरूको सांस्कृतिक नाच घाँटुमा नाचिने ‘जोगिया’ जसले दर्शकलाई मनोरञ्जन दिएर केही पैसा आम्दानी गरेका घाँटु नाचमा आवश्यक पर्ने सामग्री किन्न मद्दत गर्दछ । जुन व्यक्तिको मृत्युपछि ‘जोगिया’को भूमिका कसले गर्छ त ? भन्ने विषय यस चलचित्रमा उठान गरिएको छ । बुद्ध सुनारी मगरको निर्देशनमा निर्मित उक्त चलचित्रको निर्माण तुलाजी सारु मगर र गणेश थापा मगरले गरेका थिए भने चलचित्रको मुख्य भूमिकामा राधु बयम्बु, जेनिसा सोती र लोकमाया बयम्बु मगरको रहेको छ । त्यसैगरी उत्कृष्ट अभिनयको विजेता धनबहादुर बयम्बु मगर बनेका छन् । सुनारी फिल्मस प्रालिले बजारमा ल्याएको उक्त चलचित्र १ घण्टा १८ मिनेटको रहेको छ ।
प्रतिक्रिया